रामेछाप, भदाै ४ । राजनीति गर्ने मानिसहरू प्रायः चिया गफमा भेटिन्छन् भन्ने आमधारणालाई नेकपा एमाले रामेछापका उपाध्यक्ष होतराज ढकालले आफ्नो कर्मबाट चुनौती दिनुभएको छ। पार्टीको जिम्मेवारीसँगै उहाँ अहिले सुकाजोर खोलको बगरमा कृषि कर्ममा व्यस्त हुनुहुन्छ।
अरू राजनीतिकर्मीहरू चिया गफमा व्यस्त भइरहँदा ढकाल भने आफ्नो महालक्ष्मी कृषि तथा पशुपन्छी फार्म पुगेर पसिना बगाइरहनुभएको छ। उहाँको दिनचर्याले राजनीति केवल भाषण र बहसको विषय होइन, समाजलाई कर्मबाटै परिवर्तन गर्ने माध्यम पनि हो भन्ने सन्देश दिएको छ।
सुकाजोर खोलको करिब ६० रोपनी बाँझो बगर पाँच वर्षअघि ६ जनाले भाडामा लिएर कृषि फार्म सुरु गर्नुभएको थियो। समयसँगै अन्य साझेदारले साथ छाडे पनि ढकालले कृषि कर्म छाड्नुभएन। अहिले उहाँलाई मन्थली नगरपालिकामा कानुन अधिकृतका रूपमा कार्यरत सुदर्शन रायले साथ दिइरहनुभएको छ।
त्यही बगर अहिले उन्नत जातका गाई, कुखुरा, ड्रागन फ्रुट, तरकारी, धान र घाँसले हरियाली बनेको छ। जहाँ केही वर्षअघि बगरबाहेक केही थिएन, अहिले त्यहाँ मेहनत, लगानी र सम्भावनाको कथा देखिन्छ।

“हामीसँग माउ–बाच्छी गरेर १७/१८ वटा उन्नत जातका गाई छन्, यसबाहेक २५ सय बोइलर कुखुरा छन्, अब यसलाई बढाएर ५ हजार पुर्याउने योजना बनाएका छौँ, एक सय पोलभन्दा बढी ड्रागन फ्रुट छन्, घाँस आफैँले लगाएका छौँ, धान पनि रोपेका छौँ, दुईवटा गोलभेँडा र तरकारीका टनेल राखेका छौँ,” ढकालले भन्नुभयो।
कुखुरा जिउँदै बजार पठाउँदा अपेक्षित मूल्य नपाउने भएपछि उहाँले फार्ममै आधुनिक वधशाला निर्माण गरिरहनुभएको छ। वधशाला सञ्चालनमा आएपछि फार्ममा उत्पादन भएको कुखुराको स्वच्छ र गुणस्तरीय मासु बजारमा पुर्याउने उहाँको योजना छ।
फार्ममा तीन जना कर्मचारी छन्। तर अधिकांश काममा ढकाल र राय आफैँ पनि खटिनुहुन्छ। बिहान उज्यालो नहुँदै फार्म पुगेर गाईलाई कुँडो, घाँस र पानी दिने, गाई दुहुने, कुखुरालाई दाना–पानी दिने तथा बगैँचाको हेरचाह गर्ने उहाँहरूको दैनिकी हो। त्यसपछि ढकाल दूध लिएर डेरीतर्फ लाग्नुहुन्छ भने राय आफ्नो कार्यालयको जिम्मेवारी सम्हाल्न जानुहुन्छ। फुर्सद पाउनेबित्तिकै ढकाल र राय पुनः फार्ममै पुग्नुहुन्छ।

सुकाजोर खोलको बगरमा देखिएको यो परिवर्तन श्रम र इच्छाशक्ति भए बाँझो जमिनमा समेत समृद्धिको बीउ रोप्न सकिन्छ भन्ने प्रेरणादायी उदाहरण बनेको छ। त्यतिकै खेर गइरहेको ६० रोपनीभन्दा बढी बगर अहिले मरुभूमिमा उम्रिएको हरियालीजस्तै देखिन्छ।
ढकाल अहिलेको उपलब्धिमै सन्तुष्ट हुनुहुन्न। उहाँ ड्रागन फ्रुटका पोल करिब एक सयबाट बढाएर एक हजार पुर्याउने योजनामा हुनुहुन्छ। गाईका लागि आवश्यक घाँस आफैँ उत्पादन गर्ने तथा गाई फार्म विस्तार गरेर उन्नत जातका बाच्छी गाउँ–गाउँमा पुर्याउने उहाँको लक्ष्य छ।

कृषि कर्मलाई जीवन र समाजको समृद्धिसँग जोडेर हेर्नुभएका ढकालका लागि यो केवल व्यक्तिगत व्यवसाय होइन, अरूलाई पनि कर्मतर्फ प्रेरित गर्ने अभियान हो। “अरू जे–जे गरे पनि कृषि कर्म नगरी जीवन चल्दैन, कसै न कसैले यो कर्म गर्नैपर्छ, त्यसैले मैले यही कर्म रोजेको हुँ,” उहाँले भन्नुभयो।
प्राकृतिक विविधताले भरिएको नेपालमा अनेक प्रकारका कृषि उत्पादन सम्भव रहेको बताउँदै उहाँले युवासहित सबैलाई आफ्नो क्षमता र जमिनअनुसार कुनै न कुनै कृषि कर्ममा जोडिन आग्रह गर्नुभएको छ। धैर्य, निरन्तरता र श्रम गर्न सके कृषिबाटै समृद्धि हासिल गर्न सकिने उहाँको दृढ विश्वास छ।
राजनीतिक जिम्मेवारीसँगै बगरमा पसिना बगाइरहनुभएका ढकालको यात्रा एउटा सन्देश बनेको छ- समृद्धिको सपना भाषणले होइन, श्रमले साकार हुन्छ।














प्रतिक्रिया दिनुहोस्