काठमाडौँ, २ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद ज्वाला सङ्ग्रौलाको अभिव्यक्तिलाई लिएर प्रतिनिधि सभाको मंगलबारको बैठकमा चर्को हङ्गामा भएको छ।
बैठकमा बोल्दै सांसद सङ्ग्रौलाले विगतमा ३५ वर्ष शासन गर्नुभएका दल तथा नेताहरूका कारण गत भदौमा जेनजी आन्दोलन भएको टिप्पणी गर्नुभयो। आन्दोलनमा ज्यान गुमाउनुभएका व्यक्तिका परिवार शोकमा रहेका बेला विपक्षी सांसदहरूले सरकार सञ्चालनबारे प्रश्न उठाइरहेको उहाँको भनाइ थियो।
सांसद सङ्ग्रौलाले विपक्षी सांसदहरूलाई लक्षित गर्दै भदौको आन्दोलनमा ज्यान गुमाउनुभएका परिवार शोकमा रहेका बेला ‘हामी शासन चलाउँछौँ’ भन्ने हिम्मत कसरी आयो भन्दै प्रश्न गर्नुभयो।
उहाँको अभिव्यक्तिपछि विपक्षी बेन्चका सांसदहरू उठेर विरोध जनाउनुभयो। नेकपा एमालेकी सांसद साजिदा सिद्दीकीले प्रतिवाद गर्दै वर्तमान सरकारले नै मुलुकमा गुण्डाराज चलाइरहेको आरोप लगाउनुभयो।
प्रतिपक्षले सरकारलाई प्रश्न गर्दा सत्तापक्षले ‘गुण्डाराज’ को आरोप लगाएको भन्दै उहाँले आपत्ति जनाउनुभयो। देश र जनताको पक्षमा उभिँदा गोली खानुपरे पनि प्रतिपक्ष पछि नहट्ने उहाँको भनाइ थियो।
सिद्दीकीले जेनजी आन्दोलनको कुरा गर्नेहरूले सिरहामा सरकारले चलाएको गोलीबारे पनि जवाफ दिनुपर्ने माग गर्नुभयो।
त्यसपछि सांसद सङ्ग्रौलाले पुनः प्रतिवाद गर्दै सिद्दीकीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गर्नुभयो। दुवै पक्षका सांसदहरूबीच भनाभन र आरोप–प्रत्यारोप भएपछि प्रतिनिधि सभाको बैठकमा चर्को होहल्ला भएको थियो।














प्रतिक्रिया दिनुहोस्