जनता टाइम्स

२ भाद्र २०८३, मंगलवार १७:४४

भीमफेदी दुर्घटनामा घाइते लक्ष्मी बडुको मृत्यु


काठमाडौँ, भदौ २ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा स्कारपियो दुर्घटनामा गम्भीर घाइते हुनुभएकी लक्ष्मी बडुको उपचारका क्रममा मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते हुनुभएकी ४९ वर्षीया बडुलाई नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलबार बिहान काठमाडौँस्थित छाउनी अस्पताल लगिएको थियो। उहाँलाई बिहान १०ः०४ बजे अस्पताल पुर्‍याइएकोमा उपचारका क्रममा १०ः२९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो।

प्रहरीका अनुसार बडुको शव छाउनी अस्पतालमै राखिएको छ। उहाँ रजिस्ट्रार तारादत्त बडुकी पत्नी हुनुहुन्छ।

दुर्घटनामा घाइते हुनुभएका चार जनालाई मंगलबार बिहान सवा ९ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो। उनीहरूमध्ये उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी, रितेन्द्र बडु र रिता बडुको उपचार भइरहेको छ।

यसअघि स्कारपियो चालक छुनिलाल चौधरी र रजिस्ट्रार तारादत्त बडुलाई थप उपचारका लागि हेटौँडा अस्पताल पठाइएको थियो।

मंगलबार बिहान काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो भीमफेदी गाउँपालिका–६ जुरीखेलमा अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो।