जनता टाइम्स

२ भाद्र २०८३, मंगलवार १७:४७

मध्यरात होटलको कोठामा पसेर भिडियो खिच्नेको खोजी, सईमाथि विभागीय कारबाही


काठमाडौँ, भदौ २ । काभ्रेको नमोबुद्धस्थित एक होटलमा प्रहरी सहायक निरीक्षक (सई) एक युवतीसँग बसेको अवस्थामा स्थानीय युवाहरूले होटलको कोठामै प्रवेश गरी नियन्त्रणमा लिएको घटनामा प्रहरीले भिडियो खिच्ने व्यक्तिहरूको खोजी थालेको छ।

भकुण्डेबेसीस्थित प्रहरी चौकीका इन्चार्ज सई गणेश श्रेष्ठ आइतबार राति नमोबुद्ध बजारस्थित एक होटलमा पूर्वम्यादी प्रहरीमा कार्यरत एक युवतीसँग बसेका बेला केही स्थानीय युवाहरू कोठामै प्रवेश गरेका थिए। उनीहरूले सई श्रेष्ठ र युवतीलाई नियन्त्रणमा लिएर भिडियोसमेत खिचेका थिए।

उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाएको हो। प्रहरीका अनुसार होटलमा छापा मार्ने, मानिसलाई नियन्त्रणमा लिने तथा उनीहरूको निजी अवस्थाको भिडियो खिचेर सामाजिक सञ्जालमा राख्ने अधिकार सर्वसाधारणलाई छैन।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविन कार्कीले सई श्रेष्ठ र युवतीको निजी मामिलामा हस्तक्षेप गरी व्यक्तिगत गोपनीयता भंग गर्ने व्यक्तिहरूको खोजी भइरहेको जानकारी दिनुभयो।

उहाँका अनुसार भिडियो खिच्ने व्यक्तिहरू हालसम्म फेला परेका छैनन्। उनीहरूको संलग्नताबारे विभिन्न प्रमाण संकलन भइरहेको र प्रमाणका आधारमा कानुनी कारबाही अघि बढाइनेछ।

एसपी कार्कीले महिला र पुरुष आपसी सहमतिमा होटलमा जाने वा बस्ने विषय व्यक्तिगत भएकाले त्यसमा सर्वसाधारणले हस्तक्षेप गर्न नमिल्ने बताउनुभयो। सर्वसाधारणले होटलमा छापा मार्ने वा मानिसलाई नियन्त्रणमा लिने कार्यसमेत गैरकानुनी हुने उहाँको भनाइ छ।

यता, सई श्रेष्ठमाथि भने विभागीय कारबाही हुने भएको छ। विवाहित सई श्रेष्ठले घरमा पत्नी हुँदाहुँदै अन्य युवतीसँग रात बिताएको विषयलाई अनैतिक आचरणका रूपमा लिँदै विभागीय कारबाहीको प्रक्रिया अघि बढाइएको एसपी कार्कीले जानकारी दिनुभयो।

यद्यपि घटना ड्युटीको समयमा नभएको र दुवै जना आपसी सहमतिमा होटलमा गएको देखिएकाले यसलाई गम्भीर आपराधिक घटनाका रूपमा नलिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सई श्रेष्ठ आफ्नै कार्यक्षेत्रमा होटलमा बसेको विषयले प्रहरी संगठनको मर्यादा, सम्मान र विश्वसनीयतामा असर पर्न सक्ने भएकाले विभागीय कारबाही प्रक्रिया अघि बढाइएको हो।

प्रहरी स्रोतका अनुसार स्थानीयसँग सई श्रेष्ठको सम्बन्ध यसअघि नै राम्रो थिएन। नदी आसपासका बस्तीका स्थानीयले घर निर्माणका लागि निर्माण सामग्री लैजान खोज्दा रोक लगाउने गरेको विषयमा स्थानीयमा उनीप्रति असन्तुष्टि रहेको थियो। सोही रिसका कारण स्थानीय युवाहरूले उनको व्यक्तिगत जीवनमा हस्तक्षेप गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक आकलन छ।