जनता टाइम्स

२ भाद्र २०८३, मंगलवार १७:४९

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न अदालतले दिएन अनुमति


काठमाडौँ, भदौ २ । जिल्ला अदालत ललितपुरले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिन अस्वीकार गरेको छ।

उपसभामुख रुबीकुमारी ठाकुरको उजुरीका आधारमा जिल्ला प्रहरी परिसर ललितपुरको टोली सोमबार श्रेष्ठलाई पक्राउ गर्न अनुमति माग्दै जिल्ला अदालत पुगेको थियो। तर, अदालतले पक्राउ पुर्जी जारी गर्न अनुमति नदिएको हो।

उपसभामुख ठाकुरले सोमबार जिल्ला प्रहरी परिसर ललितपुरमा श्रेष्ठविरुद्ध जाहेरी दिनुभएको थियो। श्रेष्ठले जनआस्थाको फेसबुक पेज तथा अनलाइनमार्फत आफ्नो व्यक्तिगत तस्बिर, मर्यादा र संवैधानिक ओजमा आँच पुर्‍याउने तथा व्यक्तिगत चरित्र र प्रतिष्ठामा गम्भीर क्षति पुर्‍याउने उद्देश्यले भ्रामक, असत्य र निन्दनीय समाचार सम्प्रेषण गरेको उहाँको आरोप छ।

प्रकाशित समाचारका कारण आफ्नो व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनमा गहिरो चोट पुगेको उपसभामुख ठाकुरले जाहेरीमा उल्लेख गर्नुभएको छ। समाचारमा जोडिएका पुरुष आफूले रक्षाबन्धन बाँधेका दाजु रहेको उहाँको दाबी छ। ती व्यक्तिसँग अनैतिक सम्बन्ध रहेको आरोप लगाएर आफ्नो चरित्र हत्या गर्ने प्रयास गरिएको उहाँको आरोप छ।

यसअघि अर्की युवतीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदलाई जोडेर समाचार प्रकाशित गरेको विषयमा श्रेष्ठ पक्राउ पर्नुभएको थियो। वैयक्तिक गोपनीयता हननको आरोपमा पक्राउ पर्नुभएका श्रेष्ठलाई सोमबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो।