जनता टाइम्स

२ भाद्र २०८३, मंगलवार २१:०१

प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको भेट


काठमाडौँ, भदौ २ । प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेट गर्नुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार भएको भेटमा नेपाल र भारतबीचको आपसी सम्बन्ध तथा द्विपक्षीय हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसमेत सहभागी हुनुभएको थियो।

प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष सेठ चारदिने भ्रमणका क्रममा आइतबार काठमाडौँ आउनुभएको हो। पाँच सदस्यीय भ्रमण टोलीमा उहाँकी श्रीमती कोमल सेठसमेत हुनुहुन्छ।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको थियो।

सोही दिन प्रधानसेनापति सिग्देल र सेनाध्यक्ष सेठबीच द्विपक्षीय भेटवार्तासमेत भएको थियो। भेटमा आपसी हितका विषयका साथै नेपाल–भारत द्विपक्षीय सैन्य सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो।

भ्रमणका क्रममा सेनाध्यक्ष सेठले नेपाली सेनालाई सैन्य तथा स्वास्थ्य उपकरणसमेत हस्तान्तरण गर्नुभएको थियो। उहाँले मंगलबार बिहान पशुपतिनाथ मन्दिर पुगेर पूजाआजासमेत गर्नुभएको थियो।

भारतीय स्थल सेनाध्यक्ष सेठ बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।