काठमाडौँ, २ भदौ । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि जेलबाट अस्पताल सार्न आदेश दिएको छ।
तीन सदस्यीय इजलासले मंगलबार खानलाई अस्पताल भर्ना गर्न माग गर्दै दायर गरिएको निवेदनमाथि सुनुवाइ गर्दै उहाँलाई शिफा इन्टरनेशनल अस्पतालमा सार्न आदेश दिएको हो।
अदालतको आदेशअनुसार खानलाई आगामी सेप्टेम्बर १६ मा हुने अर्को सुनुवाइसम्म अस्पतालमै राखिने बीबीसीले जनाएको छ।
सर्वोच्च अदालतले अडियाला जेलका सुपरिटेन्डेन्टलाई अदालतको अवहेलनासम्बन्धी सूचना जारी गर्दै खानको स्वास्थ्य अवस्थासम्बन्धी सम्पूर्ण मेडिकल अभिलेखसमेत पेस गर्न निर्देशन दिएको छ।
त्यसैगरी अदालतले इमरान खानलाई प्रत्येक साता परिवारका सदस्यसँग भेटघाट गर्न दिने व्यवस्था सुनिश्चित गर्न अधिकारीहरूलाई आदेश दिएको छ।
सर्वोच्च अदालतले खानसँग भएका सबै बैठकको विस्तृत अभिलेख तथा उहाँविरुद्ध विचाराधीन सम्पूर्ण मुद्दाको विवरणसमेत उपलब्ध गराउन सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएको छ।














प्रतिक्रिया दिनुहोस्