जनता टाइम्स

२ भाद्र २०८३, मंगलवार २१:०७

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत लिने


धनगढी, भदौ २ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ।

नेकपा संसदीय दलका नेता भट्ट एमालेको समर्थनमा साउन २९ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। मुख्यमन्त्री नियुक्त भएपछि उहाँले मंगलबार नेकपा संसदीय दलको बैठक बोलाएर बुधबार विश्वासको मत लिने निर्णय गर्नुभएको हो।

मुख्यमन्त्री भट्टले मंगलबार नै प्रदेशसभा सचिवालयलाई पत्राचार गर्दै विश्वासको मत प्रयोजनका लागि प्रदेशसभाको बैठक बोलाउन आग्रह गर्नुभएको थियो। सोहीअनुसार बुधबार दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिनुभयो।

उहाँका अनुसार कार्य व्यवस्था परामर्श समितिको बैठकले पनि बुधबारको प्रदेशसभा बैठक बोलाउने निर्णय गरिसकेको छ।

यसैबीच, नेकपाले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विपसमेत जारी गरिसकेको छ।