काठमाडौँ, भदौ २ । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले मन्त्रीका लागि हेलिकप्टरमार्फत उद्धार गर्न सक्ने राज्यले कर्णालीका नागरिकलाई सामान्य राहतसमेत पुर्याउन नसकेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाउनुभएको छ।
मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उहाँले पूर्वाधारमन्त्री सुनिल लम्साल बिरामी भएपछि हालै हेलिकप्टरमार्फत उद्धार गरिएको प्रसंग उल्लेख गर्दै कर्णालीका नागरिकको अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो।
उहाँले मन्त्रीका लागि ३०/३५ लाख रुपैयाँ खर्च गरेर हेलिकप्टर पठाउन सक्ने राज्यले कर्णालीका नागरिकका लागि तीन लाख रुपैयाँ खर्च गरेर राहत तथा औषधि उपचारको व्यवस्था गर्न नसकेको टिप्पणी गर्नुभयो।
‘जनताले राहत पाउँदैनन्, औषधि पाउँदैनन्, सुत्केरीले समयमा उपचार पाउँदैनन्, काठमाडौंमा हुर्केका मन्त्री कर्णाली पुग्दा पानी र खानपान पचाउन नसक्दा लाखौँ खर्चेर हेलिकप्टरमा ल्याइन्छ,’ उहाँले भन्नुभयो।
मन्त्रीका लागि लाखौँ रुपैयाँ खर्च गर्न सक्ने राज्यले नागरिकका लागि सामान्य राहतसमेत उपलब्ध गराउन नसक्नु कस्तो सुशासन हो भन्दै उहाँले प्रश्न गर्नुभयो।
‘मन्त्रीलाई ३०/३५ लाख खर्चने राज्यले नागरिकलाई तीन लाख खर्चेर राहत दिन सक्दैन। यो कस्तो सुशासन हो?’ उहाँले प्रश्न गर्नुभयो।
कर्णालीका जनताको जीवन पनि मन्त्रीको जत्तिकै मूल्यवान रहेको उल्लेख गर्दै उहाँले मन्त्रीका लागि हेलिकप्टर पुग्ने तर नागरिकका लागि अस्पतालसम्म पुग्ने व्यवस्था नहुने अवस्थाबारे सरकारले गम्भीर भएर सोच्नुपर्ने बताउनुभयो।














प्रतिक्रिया दिनुहोस्