जनता टाइम्स

२ भाद्र २०८३, मंगलवार २१:२०

विद्यालयबाट फर्किरहेका बालिकालाई खोलाले बगाउँदा एकको मृत्यु, दुई बेपत्ता


हेटौँडा, भदौ २ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ वासुदेवमा खहरे खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ भने दुई बालिका बेपत्ता भएका छन्।

मंगलबार साँझ निर्मल माध्यमिक विद्यालय बस्तीपुरबाट घर फर्कने क्रममा वासुदेवस्थित खहरे खोलामा लच्का तर्ने क्रममा चार बालिकालाई खोलाले बगाएको प्रहरीले जनाएको छ।

खोलाले बगाएका मध्ये हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरका दीप स्याङ्ताङकी ८ वर्षीया छोरी रोशनी स्याङ्ताङ करिब ५०० मिटर तल रुखको जरामा अड्किएको अवस्थामा फेला पर्नुभएको थियो।

उहाँलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याइएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिनुभयो।

त्यस्तै, सोही ठाउँका टीकाराम भोलनकी ११ वर्षीया छोरी सुमित्रा भोलन र राजकुमार भोलनकी १२ वर्षीया छोरी विनीता भोलन बेपत्ता हुनुहुन्छ।

उहाँहरूको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरिएको छ।

खोलाले बगाएकी सीताराम भोलनकी १३ वर्षीया छोरी सीमा भोलन भने आफैँ खोलाबाट निस्कन सफल हुनुभएको प्रहरीले जनाएको छ। उहाँलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौँडा अस्पताल लगिएको प्रहरीले जनाएको छ।