जनता टाइम्स

२ भाद्र २०८३, मंगलवार २१:२२

मधेशको अधिवेशन नसकिएसम्म बालेन पक्षले मनोनीत हुनेको नाम नपठाउने संकेत


काठमाडौँ, भदौ २ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक भदौ ५ गते बस्ने भएको छ। बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, सचिवालय सदस्य, विभागीय प्रमुख तथा स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयनलगायतका विषयमा छलफल हुने कार्यसूची छ।

चितवनमा सम्पन्न महाधिवेशनपछि गर्नुपर्ने मनोनयन अझै हुन सकेको छैन। पार्टीले आगामी बैठकमा मनोनयनको एजेन्डा राखे पनि प्रधानमन्त्रीसमेत रहनुभएका वरिष्ठ नेता बालेन शाह पक्षले भने तत्काल आफ्नातर्फबाट नाम उपलब्ध नगराउने संकेत गरेको छ।

बालेन पक्षीय एक नेताका अनुसार रिक्त पदाधिकारी तथा केन्द्रीय सदस्यमा मनोनीत गर्नुपर्ने व्यक्तिको नाम अहिले नपठाउने विषयमा छलफल भएको छ। उहाँका अनुसार मधेश प्रदेशको अधिवेशन सम्पन्न भएपछि मात्रै बालेन पक्षले मनोनीत हुने व्यक्तिको नाम सभापतिलाई उपलब्ध गराउनेछ।

मधेश प्रदेशसहित प्रदेशअन्तर्गतका आठै जिल्लामा अधिवेशन हुन बाँकी छ। मधेशको अधिवेशन स्थगित गरेर रास्वपाले केन्द्रीय महाधिवेशन सम्पन्न गरेको थियो।

पार्टी विधानअनुसार सभापतिले एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्ष, एक प्रवक्ता र तीन सहप्रवक्तासहित ५१ जना केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था छ।