जनता टाइम्स

२ भाद्र २०८३, मंगलवार २१:३६

लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह


काठमाडौँ, भदौ २ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लघुवित्त, सहकारी तथा मिटरब्याज पीडितका समस्या सरकारले गम्भीरतापूर्वक लिएर दीर्घकालीन रूपमा समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ।

मंगलबार ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय अगाडि धर्नामा बसिरहेका वित्तीय पीडितहरूलाई भेट्न पुग्नुभएकी भण्डारीले आन्दोलनरत महिला तथा अन्य पीडितको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो।

पीडितका माग र समस्याबारे जानकारी लिएपछि उहाँले सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिएर समाधानका उपाय खोज्नुपर्ने बताउनुभयो। विगतको अन्तरिम सरकारले पीडितसँग गरेका सम्झौता स्मरण गराउँदै भण्डारीले वर्तमान सरकारले ती सहमतिका आधारमा समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने धारणा राख्नुभयो।

धर्नास्थलमा पीडितहरूसँग कुराकानी गर्दै पूर्वराष्ट्रपति भण्डारीले केही दिनदेखि आमा, दिदीबहिनी तथा अन्य पीडित आन्दोलनमा रहेको जानकारी पाएपछि स्वास्थ्य अवस्था बुझ्न र सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन आफू आएको बताउनुभयो।

उहाँले सामाजिक न्यायका लागि भइरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै समस्या जरैदेखि समाधान हुनुपर्नेमा जोड दिनुभयो।

भेटका क्रममा आन्दोलनरत पीडितहरूले आफ्ना समस्या र पीडा पूर्वराष्ट्रपति भण्डारीसमक्ष राख्नुभएको थियो। पीडितका तर्फबाट एक सहभागीले आफूहरू चार दिनदेखि धर्नामा रहेको र केही पीडित सुनसरीको इनरुवाबाट १९ दिन पैदल हिँडेर काठमाडौँ आएको जानकारी गराउनुभयो।

पीडितहरूले तत्कालका लागि घुम्ती शौचालय तथा सुरक्षित बसोबासको व्यवस्था गरिदिनसमेत पूर्वराष्ट्रपति भण्डारीसँग आग्रह गर्नुभएको छ।

लघुवित्त, सहकारी तथा मिटरब्याजका कारण समस्यामा परेको भन्दै सर्वसाधारण पीडितहरू लामो समयदेखि न्याय तथा समस्या समाधानको माग गर्दै काठमाडौँ केन्द्रित आन्दोलनमा छन्।