जनता टाइम्स

३ भाद्र २०८३, बुधबार ०८:२५

दाङमा सरकारी अनुदानको मल कालोबजारी गरेको आरोपमा चारजनाविरुद्ध मुद्दा


काठमाडौं, भदौ ३। दाङको घोराहीमा सरकारी अनुदानमा प्राप्त रासायनिक मल कालोबजारी गरेको आरोपमा चारजनाविरुद्ध मुद्दा दायर गरिएको छ ।

प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा घोराहीका सोहनलाल चौधरी, कृष्णबहादुर चौधरी, बंगलाचुलीका दिवाकर खत्री र खिमबहादुर घर्तीविरुद्ध कालोबजारी तथा सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत मुद्दा दायर गरिएको हो ।

प्रहरीका अनुसार उनीहरूलाई गत साउन २८ गते राति घोराही उपमहानगरपालिका–७ सिसहनियामा ट्याक्टरमा डीएपी र युरिया मल ढुवानी गरी बिक्री वितरण गरिरहेको अवस्थामा पक्राउ गरिएको थियो । उनीहरूको साथबाट ५३ बोरा डीएपी र चार बोरा युरिया मल बरामद गरिएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय दाङका सहायक जिल्ला न्यायाधिवक्ता श्रीधर अधिकारीका अनुसार उक्त मल कृषि सामग्री कम्पनी लिमिटेडबाट लक्षित किसानलाई वितरण गर्ने प्रयोजनका लागि सहकारीको नाममा खरिद गरिएको थियो ।

प्रहरी अनुसन्धानका क्रममा किसानलाई वितरण गर्नुपर्ने मल महँगो मूल्यमा बिक्री गर्न खोजेको खुलेको छ । उनीहरूले बंगलाचुली गाउँपालिका–५ मा रहेको सहकारीका लागि साउन २८ गते १३० बोरा डीएपी र १८० बोरा युरिया मल खरिद गरेको पाइएको छ ।

सरकारी अनुदानमा प्राप्त मल तोकिएको मूल्यभन्दा बढीमा बिक्री गरी किसानलाई ठगी गर्न खोजेको प्रमाण भेटिएपछि कानुनी कारबाही अघि बढाइएको सहायक जिल्ला न्यायाधिवक्ता अधिकारीले बताउनुभयो ।

मुद्दा दायर गरिएका चारै जनालाई प्रचलित कानुनबमोजिम कैद तथा जरिवानाको सजाय माग गरिएको छ ।