जनता टाइम्स

३ भाद्र २०८३, बुधबार ०८:३४

रूपन्देहीमा तीन वर्षमा डुबेर १११ जनाको मृत्यु, आधाभन्दा बढी बालबालिका


बुटवल, भदौ ३ । रूपन्देहीमा पछिल्लो तीन वर्षमा पानीमा डुबेर १११ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार आर्थिक वर्ष २०८०/८१ देखि २०८२/८३ सम्म जिल्लाका विभिन्न खोला, नदी, पोखरी, सिँचाइ कुलो, सेप्टी ट्याङ्की, निर्माणाधीन संरचनाका खाडल तथा स्विमिङ पुलमा डुबेर १११ जनाले ज्यान गुमाएका हुन् ।

प्रहरीका अनुसार डुबेर मृत्यु हुनेमध्ये आधाभन्दा बढी १८ वर्षमुनिका बालबालिका छन् । मृतकमध्ये ५८ जना १८ वर्षमुनिका, ३० जना १९ देखि ४० वर्ष उमेर समूहका र २३ जना ४१ वर्षभन्दा माथिका छन् ।

घरवरपर रहेका खुला पोखरी, कुलो, निर्माणाधीन संरचनाका खाडल तथा सेप्टी ट्याङ्कीमा खेल्ने क्रममा साना बालबालिका डुब्ने गरेका छन् । किशोरकिशोरी तथा युवाहरू भने खोला र पोखरीमा पौडी खेल्ने तथा माछा मार्ने क्रममा डुब्ने गरेको प्रहरीले जनाएको छ ।

तीन वर्षको अवधिमा तिनाउ नदीमा मात्रै १५ जनाको डुबेर मृत्यु भएको छ । बुटवल र तिलोत्तमा क्षेत्रमा नदीजन्य पदार्थ उत्खननका क्रममा बनेका गहिरा दह, बाढीले कटान गरेका खोँच तथा ड्याम आसपासमा पौडी खेल्ने र नुहाउने क्रममा धेरैले ज्यान गुमाएका छन् ।

यस्तै, दानव नदीमा आठ जना तथा रोहिणी र त्रिशूली खोलामा सात–सात जनाको मृत्यु भएको प्रहरी तथ्यांक छ । रुपन्देहीका तिनाउ, दानव, रोहिणी, त्रिशूली र अर्दौला खोलालाई पौडी खेल्ने क्रममा जोखिमपूर्ण क्षेत्रका रूपमा प्रहरीले औंल्याएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले पानीमा डुबेर हुने मानवीय क्षति न्यूनीकरणका लागि स्थानीय तहमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँका अनुसार अभिभावकको निगरानी नहुँदा तीन वर्षको अवधिमा तीन वर्षमुनिका १० जना बालबालिकाको डुबेर मृत्यु भएको छ ।

खुला सेप्टी ट्याङ्की, निर्माणाधीन संरचनाका खाडल, पोखरी तथा सिँचाइ कुलोका साथै घरमा बाल्टी र अन्य भाँडामा राखिएको पानीमा समेत साना बालबालिका डुब्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले घरवरपर पानी जम्ने खाडल पुर्ने तथा पानी भरिएका भाँडाकुँडा छोपेर राख्न अभिभावकलाई आग्रह गरेको छ । साथै, जोखिमयुक्त खोला, नदी तथा पोखरीमा सूचना बोर्ड राख्ने र स्थानीयस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा प्रहरीले जोड दिएको छ ।