जनता टाइम्स

३ भाद्र २०८३, बुधबार ०८:३७

संसद्मा सांसदको गतिविधिमाथि प्रश्न उठेपछि रविले बोलाए मन्त्रीसहित रास्वपा बैठक


काठमाडौं, भदौ ३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार र पार्टीका सांसदहरूबीच पछिल्लो समय देखिएको असमझदारी तथा गतिविधिबारे समीक्षा गर्न मन्त्रीहरूसहितको बैठक बैठक बोलाएको छ ।

बुधबार बिहान ११ बजे संसदीय दलको कार्यालयमा हुने अन्तर्क्रियामा पार्टी सभापति रवि लामिछानेले सांसद तथा मन्त्रीहरूलाई आवश्यक निर्देशन दिनुहुनेछ।

बैठकमा सरकार र पार्टीका सांसदहरूबीच बढ्दै गएको असमझदारी, संसद्मा सांसदहरूको प्रस्तुति तथा संसदीय अनुशासनका विषयमा छलफल हुने एक नेताले जानकारी दिनुभएको छ।

पार्टीभित्र सांसदहरूले संसद्मा बोल्ने भाषा तथा सार्वजनिक गतिविधिमा संसदीय मर्यादा कायम नगरेको भन्दै प्रश्न उठ्न थालेपछि बैठक बोलाइएको हो। संसदीय अनुशासनको विषयमा प्रश्न उठेका सांसदहरूलाई सचेत गराउने तयारीसमेत रहेको ती नेताले बताउनुभएको छ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपाकी सांसद आशिका तामाङ र सभामुख डीपी अर्यालबीच समेत असमझदारी देखिएको थियो। परराष्ट्रमन्त्री शिशिर खनालले दिनुभएको जवाफप्रति असन्तुष्टि जनाउँदै सांसद तामाङले पुनः प्रश्न गर्न खोज्नुभएको थियो।

तर सभामुख अर्यालले उहाँलाई संसदीय मर्यादा र सदनको गरिमाको ख्याल गर्न सचेत गराउँदै बोल्न समय नदिएपछि सांसद तामाङ बैठकबाट बाहिरिनुभएको थियो।

पछिल्लो घटनाक्रमलाई समेत लिएर रास्वपाले पार्टीका सांसद र सरकारबीचको समन्वय तथा संसदीय भूमिकाबारे छलफल गर्न लागेको हो।