काठमाडौं, भदौ ३ । देशका ठूला नदीमा बहाव सामान्य रहे पनि केही पहाडी तथा हिमाली जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बुधबार बिहान जारी गरेको बुलेटिनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली तथा तिनका सहायक नदीमा पानीको सतह सतर्कता विन्दुभन्दा तल रहेको छ ।
कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीको बहाव पनि हाल सुरक्षित अवस्थामा रहेको महाशाखाले जनाएको छ ।
तर रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, बझाङ र दार्चुला आसपास भएर बग्ने साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्न सक्ने पूर्वानुमान छ ।
ती जिल्लाका साना नदीमा बुधबार आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले नदी तथा खोला आसपासका बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।
बाढीको जोखिम आगामी दिनमा पनि कायमै रहने पूर्वानुमान छ । बिहीबार बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही साना नदीमा बहाव अचानक बढ्न सक्नेछ ।
यस्तै शुक्रबार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साना नदी तथा खोलामा पानीको सतह आकस्मिक रूपमा बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।














प्रतिक्रिया दिनुहोस्