जनता टाइम्स

३ भाद्र २०८३, बुधबार १०:१९

बासुदेव खोलाले बगाएका बालिकामध्ये थप एकको शव फेला


हेटौँडा, भदौ ३ । हेटौँडा–१९ बस्तीपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये थप एक जनाको शव फेला परेको छ ।

मंगलबार विद्यालयबाट घर फर्कने क्रममा चार बालिकालाई खोलाले बगाएको थियो । घटनामा एक बालिकाको सकुशल उद्धार गरिएको थियो भने अर्की एक जनाको शव मंगलबार नै फेला परेको थियो । दुई बालिका भने बेपत्ता थिए ।

बेपत्ताको खोजीका क्रममा बुधबार बिहान बिनिता भ्लोनको शव खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

कक्षा ५ मा अध्ययनरत सुमित्रा भ्लोन अझै बेपत्ता छन् । उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

खोलाले बगाएका चारमध्ये राक्सिराङ–१ की कक्षा २ मा अध्ययनरत रेश्मा स्याङ्तानको शव मंगलबार नै फेला परेको थियो । कक्षा ६ मा अध्ययनरत सीमा भ्लोनलाई घाइते अवस्थामा उद्धार गरी हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

बेपत्ता सुमित्राको खोजीमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा स्थानीयवासी परिचालन भएका छन् ।