जनता टाइम्स

३ भाद्र २०८३, बुधबार १०:२२

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक राति बन्द


नुवाकोट, भदौ ३ । वर्षाका कारण पहिरो र गेग्रान खस्ने क्रम बढेपछि नुवाकोट प्रशासनले टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरेको छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार नुवाकोट हुँदै धादिङ र चीनसँगको नाका रसुवागढीसम्म जोड्ने मुख्य सडकमा पहिरोको जोखिम बढेपछि हरेक दिन राति १० बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द गरिएको हो ।

शिवपुरी गाउँपालिका–८ घट्टेखोलास्थित सडकखण्डमा लेदो, पहिरो तथा गेग्रान खस्ने जोखिम बढेपछि यात्रुको सुरक्षालाई ध्यानमा राख्दै रातिको समयमा अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । भदौ १ गते रातिदेखि लागू भएको यो व्यवस्था अर्को सूचना जारी नभएसम्म कायम रहनेछ ।

जोखिमयुक्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । एम्बुलेन्सलगायत आकस्मिक सेवाका सवारीसाधनलाई भने सञ्चालन गर्न दिइने प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी रेग्मीले वर्षाको समयमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन तथा रातिको समयमा यात्रा नगर्न सर्वसाधारण र यातायात व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले सडक तथा मौसमको अवस्था अझै जोखिमपूर्ण रहेकाले सावधानी अपनाउन र प्रशासनको निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ ।