रामेछाप, साउन ३ । स्थानीय तहका प्रशासनिक भवन नागरिकलाई सेवा प्रदान गर्ने कार्यालय मात्र होइनन्, स्थानीय इतिहास, कला, संस्कार र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तालाई ज्ञान हस्तान्तरण गर्ने महत्वपूर्ण केन्द्र पनि बन्न सक्छन्। यसको प्रेरणादायी उदाहरण रामेछापको मन्थली नगरपालिका–८, चिसापानीस्थित वडा कार्यालयले प्रस्तुत गरेको छ।
स्थानीय तह र वडा कार्यालयका आफ्नै प्रशासनिक भवन निर्माण हुने क्रम बढिरहेका बेला मन्थली–८ को वडा कार्यालयले भने आफ्नो भवनलाई सेवा प्रवाहसँगै अध्ययन र अनुभवको केन्द्रका रूपमा विकास गर्ने अभियान अघि बढाएको छ।
वडा कार्यालयमा प्रवेश गर्ने नागरिक तथा सेवाग्राहीले चिसापानीको विगतदेखि वर्तमानसम्मको सामाजिक, सांस्कृतिक तथा विकास यात्राबारे सहजै जानकारी लिन सक्ने व्यवस्था मिलाइएको छ। कार्यालयका भित्तामा विगत र वर्तमान झल्काउने तस्बिरसँगै स्थानीय कला, संस्कार र संस्कृति झल्काउने सामग्री तथा तस्बिरहरू राखिएका छन्।
यस पहलले वडा कार्यालयमा सेवा लिन आउने नागरिकलाई आफ्नो गाउँठाउँको इतिहास र परिवर्तनबारे जानकारी लिन सहज बनाएको छ। विशेषगरी नयाँ पुस्तालाई स्थानीय मौलिकता, कला, संस्कृति र सामाजिक जीवनसँग जोड्ने महत्वपूर्ण माध्यमका रूपमा यसलाई अघि बढाइएको छ।
वडा कार्यालयले स्थानीय कला र संस्कृतिको संरक्षण गर्दै भवनमै कला संग्रहालय स्थापना गर्ने योजना समेत अघि सारेको छ। यसबाट चिसापानीको पहिचान र मौलिक सम्पदालाई पुस्तान्तरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
वडाध्यक्ष गोपाल श्रेष्ठका अनुसार वडा क्षेत्रलाई सबै दृष्टिले समृद्ध र व्यवस्थित बनाउने उद्देश्यका साथ विभिन्न क्षेत्रमा काम भइरहेको छ। खानेपानी, सडक, सौन्दर्यीकरण, प्राचीन सम्पदाको संरक्षण तथा आर्थिक र सामाजिक विकासका कार्यक्रमसँगै वडा कार्यालय पनि त्यही विकास यात्राको प्रतिबिम्ब बन्नुपर्ने उहाँको भनाइ छ। ‘वडा कार्यालयमा प्रवेश गर्नेबित्तिकै नागरिकले हिजो के थियो र आज के भयो भन्ने कुरा सहजै बुझ्न सकून्’ भन्ने उद्देश्यले विगत र वर्तमान झल्काउने तस्बिरहरू राखिएको श्रेष्ठले बताउनुभयो।
स्थानीय सरकारका भवनलाई केवल प्रशासनिक काम गर्ने स्थानमा सीमित नराखी स्थानीय इतिहास, कला र संस्कृतिको संरक्षण गर्ने केन्द्रका रूपमा विकास गर्ने मन्थली–८ को यो प्रयास अन्य स्थानीय तहका लागि पनि अनुकरणीय बन्न सक्ने देखिएको छ। यसले सेवा प्रवाहसँगै आफ्नै पहिचान र इतिहास जोगाउने यस्तो सोचले विकासलाई भौतिक संरचनाभन्दा माथि उठाएर पुस्ताबीचको ज्ञान र संस्कृतिको सेतु बनाउन सक्ने सन्देश दिएको छ।














प्रतिक्रिया दिनुहोस्