जनता टाइम्स

३ भाद्र २०८३, बुधबार १५:५४

सम्पत्ति छानबिन प्रतिवेदन र ‘भोट फिर्ता’को प्रश्नमा गृहमन्त्री गुरुङ झोक्किए


काठमाडौं, भदौ ३ । आफ्नो सम्पत्ति छानबिनसम्बन्धी प्रतिवेदन सार्वजनिक नगरेको तथा मतदातालाई ‘भोट फिर्ता लैजान’ भनेको विषयमा प्रश्न गर्दा गृहमन्त्री सुधन गुरुङ पत्रकारसँग झोक्किनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सांसद र मन्त्रीहरूलाई राखेर छलफल गर्नुभएको थियो । छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीले गृहमन्त्री गुरुङसँग विभिन्न विषयमा प्रश्न गर्नुभएको थियो ।

पत्रकारले गोरखाका मतदातालाई ‘भोट फिर्ता कसरी लिन मिल्छ ? फेरि चुनाव गर्ने हो ?’ भनेर प्रश्न गर्दा मन्त्री गुरुङले आफूले गरेको कुरा मजाक भएको भन्दै त्यसलाई ठूलो विषय नबनाउन आग्रह गर्नुभएको थियो ।

‘जोक गरेको कुरालाई यत्रो ठूलो बनाएर काण्ड बनाउने हो ?’ उहाँले प्रतिप्रश्न गर्नुभएको थियो ।

सञ्चारकर्मीले ‘यो जोक गर्ने विषय हो ?’ भनेर पुनः प्रश्न गर्दा गुरुङले आफ्नै पार्टीका कार्यकर्तासँगको भेटमा भएको कुराकानीलाई मजाकका रूपमा लिइनुपर्ने बताउनुभएको थियो ।

यसै क्रममा पत्रकारले गृहमन्त्री गुरुङको सम्पत्ति छानबिनसम्बन्धी प्रतिवेदन कहिले सार्वजनिक हुन्छ भनेर प्रश्न गर्नुभएको थियो । जवाफमा उहाँले ‘तपाईंलाई ल्याएर देखाउँछु’ भन्नुभएको थियो ।

केही दिनअघि गोरखाको शहीद लखन गाउँपालिका–९ का बासिन्दाले चुनावका बेला गरेका प्रतिबद्धता पूरा गर्न गृहमन्त्री गुरुङसँग माग गरेका थिए । त्यस क्रममा गुरुङले चार महिनामै सबै कामको प्रतिफल खोज्न नहुने भन्दै अहिले नै कायापलट गर्न नसक्ने बताउनुभएको थियो ।

मतदाताले चुनावका बेला गाउँमा आउँदा ल्याबका लागि बजेट छुट्याउने वाचा गरेको स्मरण गराएपछि उहाँले त्यसलाई स्वीकार गर्नुभएको थियो । तर, वाचाअनुसार बजेट विनियोजन किन नभएको भन्ने प्रश्नमा उहाँले समय लाग्ने बताउँदै ‘भोट फिर्ता लैजान’ भन्नुभएको थियो ।

गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङले हरेक महिना गृहजिल्ला जाने पूर्वघोषित कार्यक्रमअन्तर्गत शनिबार भीमसेन थापा गाउँपालिका र आइतबार शहीद लखन गाउँपालिकाका मतदातासँग भेटघाट गर्नुभएको थियो ।

सोही क्रममा शहीद लखन गाउँपालिका–९ का वडाध्यक्ष रामकुमार श्रेष्ठ, रास्वपा वडा सचिव खोपेन्द्र लामिछाने लगायतको उपस्थितिमा मतदातासँग छलफल भएको थियो । उक्त अभिव्यक्तिबारे बुधबार पत्रकारले प्रश्न गरेपछि गृहमन्त्री गुरुङ झोक्किनुभएको हो ।