सुर्खेत, भदौ ३ । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
बुधबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा २१ सांसदले मतदान गर्नुभएको छ भने १३ सांसदले विपक्षमा मतदान गर्नुभएको छ । दुई जना सांसद तटस्थ बस्नुभएको थियो ।
मुख्यमन्त्री शाहीलाई नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले विश्वासको मत दिनुभएको हो । नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले भने प्रस्तावको विपक्षमा मतदान गर्नुभएको छ ।
४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपाका १४, कांग्रेसका १५, एमालेका सभामुखसहित १० र राप्रपाका एक सांसद हुनुहुन्छ ।
एमालेको समर्थनमा गत साउन १२ गते मुख्यमन्त्री नियुक्त हुनुभएका शाहीले नियुक्त भएको २३ दिनपछि प्रदेशसभाबाट विश्वासको मत लिनुभएको हो ।














प्रतिक्रिया दिनुहोस्