जनता टाइम्स

३ भाद्र २०८३, बुधबार २०:२४

भारतीय स्थल सेनाध्यक्ष धीरज सेठ स्वदेश फिर्ता


काठमाडौं, भदौ ३ । चार दिने नेपाल भ्रमणमा आउनुभएका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ स्वदेश फर्किनुभएको छ ।

प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल आउनुभएका सेनाध्यक्ष सेठ तथा उहाँकी श्रीमती कोमल सेठ बुधबार स्वदेश फर्किनुभएको हो ।

उहाँहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजङ्ग केसी तथा उहाँकी धर्मपत्नीले बिदाइ गर्नुभएको थियो ।

नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्नुभएको थियो ।

भ्रमणका क्रममा उहाँले राष्ट्रपति पौडेल, प्रधानमन्त्री बालेन्द्र शाह, रक्षामन्त्री तथा प्रधानसेनापति अशोकराज सिग्देलसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

सेनाध्यक्ष सेठको नेपाल भ्रमणले नेपाल र भारतबीच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई थप सुमधुर र प्रगाढ बनाउन सहयोग पुगेको नेपाली सेनाले जनाएको छ ।