काठमाडौं, भदौ ३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारमा रहेका मन्त्रीहरूलाई हेरफेर गर्ने कुनै तयारी नरहेको बताउनुभएको छ ।
बुधबार सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा मन्त्री तथा सांसदहरूसँग छलफल गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले मन्त्रीहरूले काम गर्ने क्रममा प्रश्न उठ्नु स्वाभाविक भएको बताउनुभयो ।
उहाँले प्रश्न उठ्दैमा मन्त्रीहरू परिवर्तन गर्ने विषयमा कुनै तयारी वा छलफल नभएको स्पष्ट पार्नुभयो ।
लामिछानेले पार्टीको केन्द्रीय समितिलाई पूर्णता दिने प्रक्रिया नियमित रहेको बताउँदै पाँच वर्षभित्र आवश्यकताअनुसार योग्य नेताहरूलाई विधानअनुसार जिम्मेवारी दिँदै जाने बताउनुभयो । महाधिवेशनपछि पार्टीभित्रको समायोजन प्रक्रिया पूरा भइसकेकाले कुनै दुई धार नरहेको उहाँको दाबी छ ।
पार्टीभित्र विवाद, अन्योल वा गुटबन्दी नरहेको उल्लेख गर्दै उहाँले जनताले दिएको म्यान्डेट र देशको भविष्य निर्माणका लागि पार्टी प्रतिबद्ध र एकजुट रहेको बताउनुभयो ।
धेरै सांसद भएको दलमा संसद्मा कसरी प्रस्तुत हुने र नागरिकका मुद्दालाई प्रभावकारी रूपमा कसरी उठाउने भन्ने विषयमा आन्तरिक छलफल हुनु स्वाभाविक भएको उहाँको भनाइ छ ।
संसद्को मर्यादा कायम राख्दै जनताका मुद्दालाई गम्भीरतापूर्वक उठाउनु पार्टीको मुख्य प्राथमिकता रहेको सभापति लामिछानेले बताउनुभयो ।














प्रतिक्रिया दिनुहोस्