जनता टाइम्स

३ भाद्र २०८३, बुधबार २०:३९

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय


काठमाडौं, भदौ ३ । सरकारले सहसचिव कमलप्रसाद भट्टराईलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्दै बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो ।

बैठकले विभिन्न १० वटा निर्णय गरेको छ ।

यी हुन् मन्त्रिपरिषद्का निर्णय :

१. सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३ स्वीकृत गर्ने।

२. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल सुधारसम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने करिब २ अर्ब ७३ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने।

३. भारतमा भदौ ४ र ५ गते आयोजना हुने सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदल (JWG) को १४औँ बैठकमा सहभागी हुन गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाउने स्वीकृति दिने।

४. एसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरको उपकेन्द्र नेपालमा स्थापना गर्न स्वीकृति प्रदान गर्ने।

५. अमेरिकाको न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र संघको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाउने स्वीकृति दिने।

६. प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी तथा विद्यालय सहयोगीलाई संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपैयाँ वृद्धि गर्ने। साथै, माध्यमिक तह कक्षा ९–१० र आधारभूत तह कक्षा ६–८ मा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीको सुरु तलब बराबर कायम गर्ने।

७. नेपाल सरकार र साउदी अरेबियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्न स्वीकृति प्रदान गर्ने।

८. भुक्तानी तथा फस्यौंट ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने।

९. नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने।

१०. सहसचिव कमलप्रसाद भट्टराईलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने।