जनता टाइम्स

३ भाद्र २०८३, बुधबार २०:४२

अनलाइन सट्टेबाजी र क्रिप्टो कारोबारमा प्रहरीको निगरानी बढ्यो, ४८ जना पक्राउ


काठमाडौं, भदौ ३ । नेपाल प्रहरीले अनलाइन सट्टेबाजी (बेटिङ) तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न व्यक्तिमाथिको कारबाही तीव्र बनाएको छ ।

नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा अनलाइन बेटिङमा संलग्न ४८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २६ जना विदेशी र २२ जना नेपाली नागरिक रहेका छन् ।

यसअघि आर्थिक वर्ष २०८१/०८२ मा अनलाइन बेटिङमा संलग्न ९३ विदेशी नागरिकसहित १४८ जना पक्राउ परेका थिए । त्यस्तै, आर्थिक वर्ष २०८०/०८१ मा १३ विदेशी नागरिकसहित ६२ जना पक्राउ परेका थिए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताका समयमा विभिन्न अनलाइन बेटिङ प्लेटफर्म सक्रिय हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पछिल्लो समय अनलाइन बेटिङसँगै क्रिप्टोकरेन्सी कारोबारसमेत बढ्दै गएपछि प्रहरीले यस्ता गतिविधि नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरिरहेको जनाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले अनलाइन बेटिङ नेटवर्क तथा क्रिप्टोकरेन्सी कारोबार नियन्त्रणका लागि सूचना सङ्कलन र निगरानीलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रहरीले सट्टेबाजी हुने सम्भावित स्थान, गिरोह तथा व्यक्तिबारे गोप्य सूचना सङ्कलन गर्नुका साथै खेलकुद बेटिङमा संलग्न नेटवर्कको डिजिटल निगरानी गरिरहेको छ । बैंकिङ प्रणाली तथा डिजिटल वालेटमार्फत हुने कारोबारमाथि समेत निगरानी बढाइएको उहाँले बताउनुभयो ।

मुलुकी अपराध संहिता, २०७४ अनुसार सट्टेबाजीसम्बन्धी कसुरमा प्रयोग भएको बिगो जफत गरी कसुरदारलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

त्यस्तै, क्रिप्टोकरेन्सीसम्बन्धी कारोबारमा अभौतिक मुद्राको प्रयोग गर्न नहुनेसम्बन्धी कसुरमा बिगो तथा त्यसबाट बढाइएको सम्पत्ति जफत गरी पाँच वर्षसम्म कैद र बिगोबमोजिम जरिवाना हुने व्यवस्था रहेको प्रहरीले जनाएको छ ।