काठमाडौं, भदौ ४ । लगातारको वर्षाका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा बाढी र पहिरो खस्दा यातायात प्रभावित भएको छ ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको हो । केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ ।
कोशी प्रदेशअन्तर्गत भोजपुरमा मध्यपहाडी लोकमार्ग बाढीका कारण एकतर्फी सञ्चालनमा छ । इलामको मेची राजमार्ग भने अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । दुवै स्थानमा वैकल्पिक सडकको व्यवस्था रहेको बताइएको छ ।
बागमती प्रदेशमा सडक अवरोध र जोखिम बढी देखिएको छ । काभ्रेको बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । दिउँसो भने अवस्था हेरेर यातायात सञ्चालन गरिने जनाइएको छ ।
मकवानपुरको कान्ति लोकपथ र नुवाकोटको टोखा–छहरे सडकखण्डमा समेत रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । सिन्धुपाल्चोकको अरनिको राजमार्ग तथा रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पहिरो र बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
गण्डकी प्रदेशअन्तर्गत लमजुङको बेँसीसहर–मनाङ सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द छ । बागलुङको कालीगण्डकी करिडोर तथा मुस्ताङको बेनी–जोमसोम र जोमसोम–कोरला सडकखण्डमा पहिरो र बाढीका कारण एकतर्फी यातायात सञ्चालन भइरहेको छ ।
यस्तै, कर्णाली प्रदेशको रुकुम पश्चिममा जाजरकोट–डोल्पा सडकखण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रहरीले सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा तय गर्न तथा यात्रा गर्दा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।















प्रतिक्रिया दिनुहोस्