जनता टाइम्स

४ भाद्र २०८३, बिहीबार ०७:५८

आजको मौसम : पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना


काठमाडौं, भदौ ४ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

हाल देशभर साधारणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

पहाडी भूभागका धेरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा कोशी प्रदेशको तराईका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका केही स्थानमा हुरीबतास चल्न सक्ने पूर्वानुमान गरिएको छ ।

आज राति हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ । कोशी र सुदूरपश्चिम प्रदेशको तराईमा पनि साधारणतया बदली तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहनेछ ।

रातिको समयमा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । पहाडी भूभागका केही स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

यस्तै, कोशी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम बुलेटिनमा उल्लेख छ ।