जनता टाइम्स

४ भाद्र २०८३, बिहीबार ०७:५९

आज एकैदिन नौवटा संसदीय समितिको बैठक बस्दै


काठमाडौं, भदौ ४ । संघीय संसद्अन्तर्गतका विभिन्न नौवटा संसदीय समितिको बैठक आज बस्दैछ ।

प्रतिनिधिसभाको बैठक भदौ ८ गतेका लागि तय भएको तथा राष्ट्रियसभाको बैठक शुक्रबार बस्ने भएकाले आज विभिन्न समितिका बैठक एकैदिन बस्न लागेका हुन् ।

अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’माथि दफावार छलफल जारी रहनेछ । छलफलका लागि अर्थमन्त्री र अर्थसचिवलाई आमन्त्रण गरिएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ । बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का विषयमा होटल एसोसिएसन नेपाललगायत सरोकारवाला निकायसँग छलफल गरिनेछ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा समितिमा प्राप्त उजुरीका सम्बन्धमा छलफल हुनेछ ।

कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा जैविक तथा प्राङ्गारिक मलको उत्पादन, भण्डारण र बिक्री वितरणको अवस्था सुधार गर्दै कृषि उत्पादनमा असर नपर्ने गरी रासायनिक मलको प्रयोग क्रमशः घटाउने विषयमा उत्पादकहरूसँग छलफल गरिनेछ । बैठक बिहान १० बजे बस्नेछ ।

पूर्वाधार विकास समितिको बैठकमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिअन्तर्गतको बागमती ब्युटिफिकेसन आयोजनाका विषयमा छलफल हुनेछ । बैठक बिहान १० बजे बस्नेछ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकारबाहीलगायत विषयमा आयोगका पदाधिकारीसँग छलफल गरिनेछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा छलफल हुनेछ ।

सार्वजनिक लेखा समितिको बैठकमा नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखापरीक्षणका विषयमा छलफल गरिनेछ । बैठक बिहान १० बजे बस्नेछ ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा विधायिकी अन्तरसम्बन्धका विषयमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष र कार्यकारी निर्देशकसँग छलफल गरिने कार्यक्रम रहेको छ ।