जनता टाइम्स

४ भाद्र २०८३, बिहीबार १०:१३

उमाकुण्डमा पर्यटकीय पार्क र सुविधासम्पन्न कभर्डहल बन्दै


रामेछाप, भदाै ४। रामेछापको उमाकुण्ड गाउँपालिकाको केन्द्रमा पर्यटकीय गतिविधि र खेलकुद क्षेत्रलाई लक्षित गर्दै आधुनिक पार्क तथा सुविधासम्पन्न कभर्डहल निर्माण हुने भएको छ।

गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारका अनुसार पालिकाको चौतर्फी पूर्वाधार विकाससँगै पर्यटन प्रवर्द्धन र खेलकुद क्षेत्रको विकासलाई गति दिने उद्देश्यले यी दुई महत्वपूर्ण योजना अघि बढाइएको हो।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण उमाकुण्डमा पर्यटकका लागि आकर्षक गन्तव्य निर्माण गर्ने उद्देश्यले आधुनिक पार्क बनाउन लागिएको अध्यक्ष सुनुवारले बताउनुभयो। पार्क निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने र स्थानीय पर्यटन गतिविधिले थप गति लिने गाउँपालिकाको अपेक्षा छ।

उहाँका अनुसार पार्कमा पर्यटकलाई बस्ने, घुम्ने र मनोरञ्जन गर्ने उपयुक्त वातावरण तयार गरिनेछ। पार्क निर्माणसँगै पर्यटकको आगमन बढेपछि स्थानीयस्तरमा होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा अन्य साना व्यवसाय विस्तार हुने र त्यसबाट स्थानीयले रोजगारी तथा स्वरोजगारीका अवसर पाउने अपेक्षा गरिएको छ। “उमाकुण्ड प्राकृतिक रूपमा अत्यन्तै सुन्दर क्षेत्र हो। यहाँ आउने पर्यटकलाई केही समय रोक्ने, घुमाउने र मनोरञ्जन गराउने पूर्वाधार आवश्यक छ,” अध्यक्ष सुनुवारले भन्नुभयो, “पर्यटकीय पार्क निर्माण भएपछि यहाँको पर्यटन गतिविधि थप व्यवस्थित र आकर्षक बन्ने विश्वास गरेका छौँ।”

गाउँपालिकाले पर्यटनसँगै खेलकुदलाई पनि स्थानीय आर्थिक तथा सामाजिक विकासको महत्वपूर्ण आधारका रूपमा अघि बढाएको छ। त्यसका लागि गाउँपालिकाको केन्द्रमा सुविधासम्पन्न कभर्डहल निर्माण गर्ने योजना अघि सारिएको हो।

अध्यक्ष सुनुवारका अनुसार कभर्डहल निर्माण भएपछि स्थानीय खेलाडीले नियमित प्रशिक्षण र अभ्यास गर्ने सुविधा पाउनेछन्। साथै जिल्लाभित्र र बाहिरका खेलाडीलाई समेत उमाकुण्डमा खेलकुद प्रतियोगिता तथा प्रशिक्षणका लागि आकर्षित गर्न सकिनेछ। “सुविधासम्पन्न कभर्डहल बनेपछि आन्तरिक र बाह्य खेलाडीको नियमित चहलपहल र आगमन हुनेछ,” अध्यक्ष सुनुवारले भन्नुभयो, “खेलाडी र खेलप्रेमीको आगमनले स्थानीय आर्थिक गतिविधिमा ठूलो टेवा पुग्नेछ र समग्र पालिकाको आर्थिक वृद्धिमा नयाँ आयाम थपिनेछ।”

गाउँपालिकाले कभर्डहललाई केवल खेलाडीका लागि अभ्यास गर्ने संरचनाका रूपमा मात्र नभई खेलकुद पर्यटनको आधार बनाउने लक्ष्यसमेत लिएको छ। विभिन्न जिल्लाका खेलाडीलाई सहभागी गराएर प्रतियोगिता सञ्चालन गर्ने, प्रशिक्षण तथा खेलकुदका गतिविधि नियमित गर्ने र उमाकुण्डलाई स्पोर्ट्स टुरिजम’को गन्तव्यका रूपमा विकास गर्ने गाउँपालिकाको सोच छ।

पर्यटन र खेलकुदलाई एकअर्काका पूरक क्षेत्रका रूपमा विकास गर्न सके स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्न सकिने गाउँपालिकाको विश्वास छ। पर्यटकीय पार्कले घुम्न आउने मानिसलाई आकर्षित गर्ने र कभर्डहलले खेलाडी तथा खेलप्रेमीलाई उमाकुण्डसम्म ल्याउने भएकाले यी दुवै संरचनाले पालिकाको आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

उमाकुण्डमा निर्माण हुन लागेका यी पूर्वाधारलाई स्थानीय आवश्यकता पूरा गर्ने संरचनाका रूपमा मात्र नभई पालिकाको दीर्घकालीन पर्यटन तथा आर्थिक विकासको आधारका रूपमा हेरिएको छ। पार्क र कभर्डहल सञ्चालनमा आएपछि स्थानीय उत्पादन, होटल तथा पर्यटन व्यवसाय, यातायात र अन्य सेवा क्षेत्रसमेत विस्तार हुने गाउँपालिकाको अपेक्षा छ।

प्राकृतिक पर्यटनको सम्भावना बोकेको उमाकुण्डलाई पूर्वाधारमार्फत थप आकर्षक बनाउँदै पर्यटन र खेलकुद दुवै क्षेत्रलाई आर्थिक गतिविधिसँग जोड्ने गाउँपालिकाको योजनाले आगामी दिनमा स्थानीय विकासमा नयाँ सम्भावना सिर्जना गर्ने देखिन्छ।