काठमाडौं, भदौ ४ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीलाई धुर्मुस–सुन्तलीको क्रिकेट रंगशाला परियोजनासँग तुलना गर्नुभएको छ ।
बिहीबार सामाजिक सञ्जालमार्फत उहाँले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने धुर्मुस–सुन्तलीको योजना आकर्षक भए पनि दानदातव्यको भरमा ठूलो परियोजना अघि बढाउनु अपरिपक्व कदम भएको बताउनुभएको छ ।
महासचिव पोखरेलले रकम अभाव र बढ्दो उधारोका कारण उक्त परियोजना संकटमा परेको उल्लेख गर्दै अहिलेको नयाँ राजनीतिक नेतृत्वको कार्यशैली पनि त्यस्तै दिशातर्फ अघि बढिरहेको दाबी गर्नुभएको छ ।
उहाँले राजनीति लामो संघर्ष, समर्पण तथा राज्य सञ्चालनको कला र विज्ञान भएको उल्लेख गर्दै केवल डिजिटल लोकप्रियता र एल्गोरिदमको भरमा सत्ता सञ्चालन गर्न खोज्दा मुलुकमा चौतर्फी अन्योल, आर्थिक शिथिलता र सामाजिक संकट गहिरिँदै गएको टिप्पणी गर्नुभएको छ ।
स्पष्ट योजना र दूरदर्शिताविना राज्यसत्ता स्वेच्छाचारी ढंगले सञ्चालन गरिए भविष्यमा धुर्मुस–सुन्तलीकै जस्तो असमयमै पलायनको अवस्था आउन सक्ने उहाँको चेतावनी छ ।
महासचिव पोखरेलले समयमै आफ्नो कार्यशैलीप्रति सचेत हुन नयाँ राजनीतिक नेतृत्वलाई आग्रहसमेत गर्नुभएको छ ।














प्रतिक्रिया दिनुहोस्