काठमाडौं, भदौ ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभामा दुई तिहाइ बहुमत पुग्दैमा संविधान संशोधनका लागि पर्याप्त नहुने बताउनुभएको छ ।
बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आफ्नो धारणा राख्दै सभापति लामिछानेले रास्वपाका सांसदहरूलाई संविधान संशोधनबारे बोल्दा विषयको संवेदनशीलता र संवैधानिक व्यवस्थालाई ध्यान दिन आग्रह गर्नुभएको हो ।
उहाँले संविधान संशोधनका लागि प्रतिनिधिसभाको दुई तिहाइ मत मात्रै पर्याप्त नहुने स्पष्ट पार्दै संविधान र कानुनले तोकेको प्रक्रियाअनुसार अघि बढ्नुपर्ने बताउनुभएको छ ।
सरकारलाई सहयोग गर्ने विषयमा आफू सकारात्मक रहेको उल्लेख गर्दै उहाँले तथ्य, कानुन र संविधानलाई आधार बनाएर निर्णय गर्नुपर्नेमा जोड दिनुभएको छ । अहिले संविधानमा भएको व्यवस्थालाई स्वीकार गर्दै अधिकतम रूपमा जनताको म्यान्डेट पूरा गर्न आफूहरू प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।
सभापति लामिछानेले संवैधानिक निकाय तथा तिनका नेतृत्वप्रति सांसदहरूले सार्वजनिक रूपमा अत्यधिक आरोप लगाउँदा संस्थाको मानमर्दन हुनसक्ने बताउनुभएको छ । उहाँले आफू कुनै व्यक्तिको पक्षमा नभई संस्थाको गरिमा र लोकतान्त्रिक प्रणालीको संरक्षणको पक्षमा रहेको स्पष्ट पार्नुभएको छ ।
लोकतान्त्रिक संस्थाको निरन्तर क्षयीकरणले अन्ततः लोकतन्त्र नै कमजोर हुने उहाँको धारणा छ । व्यक्तिगत रिस वा असन्तुष्टिका कारण लोकतन्त्रका आधारभूत संस्थालाई कमजोर बनाउँदै गएमा एक समय ती संस्थाप्रतिको जनविश्वास समाप्त हुनसक्ने उहाँले चेतावनी दिनुभएको छ ।
लामिछानेले आफूले कसैले कसैलाई नटेर्ने र एकअर्काप्रति विश्वास नगर्ने समाजको परिकल्पना नगरेको बताउँदै संविधान संशोधन गर्दा विद्यमान व्यवस्थालाई थप बलियो बनाउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ ।
उहाँले भन्नुभएको छ, ‘हामीले गर्ने संशोधनले सके एक–दुई वटा इँटा थप्ने, नसके त्यसलाई क्षयीकरण गर्न नदिने गरेर पनि समस्या समाधान गर्ने बाटो पहिल्याउनुपर्छ।’














प्रतिक्रिया दिनुहोस्