काठमाडौं, भदौ ४ । नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका–१४, भागरबाट दुई दिनदेखि हराइरहेका अढाई वर्षीय बालक शिवान तामाङ सामुदायिक वनमा सकुशल फेला परेका छन् ।
भदौ २ गते बिहान हजुरआमा हेमकुमारी आले घरनजिकै रहेको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न जानुभएको थियो । उहाँ घर फर्किँदा बालक शिवान घरमा नभेटिएपछि स्थानीय बासिन्दा र आफन्तले खोजी सुरु गरेका थिए ।
वन क्षेत्रमा खोजतलास गर्दा पनि बालक फेला नपरेपछि प्रहरीलाई खबर गरिएको थियो । बालकको खोजीका लागि इलाका प्रहरी कार्यालय गैँडाकोट, इलाका प्रहरी कार्यालय रजहर तथा अस्थायी प्रहरी पोस्ट बेल्डियाबाट प्रहरी टोली परिचालन गरिएको थियो ।
खोजतलासका क्रममा बिहीबार बिहान १० बजे शिवान गैँडाकोट नगरपालिका–१४ स्थित शंखदेवी सामुदायिक वनअन्तर्गत भागर खोलाको सिरानमा सकुशल फेला पर्नुभएको प्रहरीले जनाएको छ ।
उद्धारपछि आवश्यक प्रक्रिया पूरा गरी बालकलाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्