जनता टाइम्स

४ भाद्र २०८३, बिहीबार २०:२६

विचौलियाहरूले प्रहरी हेडक्वार्टर कब्जा गरेको रास्वपा सांसद सुनारको आरोप


काठमाडौं, ४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले विचौलियाहरूले प्रहरी प्रधान कार्यालय कब्जा गरेको आरोप लगाउनुभएको छ ।

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले प्रहरी स्रोत–साधन खरिदसम्बन्धी विषयमा यसअघि आफूले उठाएका प्रश्नको जवाफ अहिलेसम्म नआएको बताउनुभयो ।

उहाँले अघिल्लो बैठकमा आफूले उठाएका प्रश्न र राखेको धारणा अहिले पनि कायमै रहेको बताउँदै कसैलाई आफ्नो अभिव्यक्तिबाट मानमर्दन भएको लागे अदालतमा गएर मुद्दा हाल्न चुनौती दिनुभयो ।

सुनारले प्रहरी स्रोत–साधन खरिदमा हुने प्रक्रियाबारे समितिले गम्भीरतापूर्वक अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।

यसअघि समितिको बैठकमा सांसद सुनारले प्रहरी अधिकारीहरूसँग गरेको सवाल–जवाफ र प्रस्तुत गरेको शैलीको आलोचना भएको थियो । विषयलाई लिएर सभामुखले समेत चासो राख्दै समितिका सभापति, सचिव र प्रहरी महानिरीक्षकसँग छलफल गर्नुभएको थियो ।

त्यसपछि रास्वपाले आफ्ना सांसदलाई बैठकमा प्रस्तुति दिँदा मर्यादा कायम गर्न निर्देशन दिएको थियो ।