जनता टाइम्स

५ भाद्र २०८३, शुक्रबार ०८:३४

एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँदै चुमभ्यालीका किसान


गोरखा, भदौ ५ । गोरखाको चुमभ्यालीका किसान एघार महिनामा पाकेको गहुँ भित्र्याउन व्यस्त छन् । तिब्बतको सीमा क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका–७ का किसान अहिले गहुँ काट्ने, कुट्ने, केलाउने र थन्क्याउने काममा जुटेका छन् ।

चुमभ्यालीको छेकम गाउँका दोर्जे लामाका अनुसार पुरुषले गहुँ काट्ने र कुट्ने तथा महिलाले केलाउने र थन्क्याउने गर्छन् । गहुँ भित्र्याएपछि केही दिनमै तोरी र फापर काट्ने तथा कुट्ने काम सुरु हुन्छ ।

गत असोजमा लगाइएको गहुँ, फापर र तोरी अहिले भित्र्याउने समय भएको उहाँले बताउनुभयो । चुमभ्यालीमा साउनको पहिलो सातादेखि गहुँ काट्न सुरु गरिएको हो । यहाँ बाली भित्र्याउनुअघि स्थानीय लामाबाट साइत जुराउने परम्परा छ ।

स्थानीय प्रमुख लामा पासाङ फुञ्जोका अनुसार साइत जुराएर बाली भित्र्याएमा सहकाल रहने जनविश्वास छ । चुमभ्यालीका सबै गाउँमा एकैपटक बाली काट्ने चलन छैन । छेकम, जोङ, ङाक्यू, लेरु, लामागाउँ, बुर्जी, लार, पाङदुन, छुले र निलेका बासिन्दाले आलोपालो गरी बाली थन्क्याउने गरेका छन् ।

भौगोलिक रूपमा गाउँहरू टाढा रहे पनि स्थानीयहरू एकअर्काको खेतबारीमा काम गर्न पुग्छन् । कतिपय गाउँमा पुग्न चार घण्टासम्म पैदल हिँड्नुपर्छ । अबको एक महिनाभित्र चुमभ्यालीका सबै गाउँमा गहुँ, फापर र तोरी भित्र्याइसक्नुपर्नेछ ।

चुमनुब्री–७ छेकम्पार चीनको स्वशासित क्षेत्र सिचाङको सीमा क्षेत्रमा करिब ३ हजार ३०० देखि ३ हजार ५०० मिटरको उचाइमा पर्छ । यहाँ गहुँ पाक्न ११ महिनासम्म लाग्छ ।

प्रमुख लामा फुञ्जोका अनुसार चुमभ्यालीमा गहुँ, फापर र आलु मात्र खेती गरिन्छ । बारीमा गहुँ र फापर आलोपालो गरी बालीचक्र मिलाएर लगाउने परम्परा छ ।

वर्षमा एकपटक मात्र खेती हुने चुमभ्यालीमा ११ महिना लगाएर उत्पादन भएको गहुँले स्थानीयको वर्षभरको आवश्यकता धान्ने गरेको छ । यहाँ उत्पादित गहुँ र फापर गुणस्तरीय मानिने भएकाले काठमाडौं तथा विदेशमा रहेका लामा गुरुहरूले समेत खरिद गर्ने गरेका छन् ।

खेतीमा बढ्दो मेसिनको प्रयोग

हिमाली क्षेत्रको परम्परागत खेती प्रणालीमा पछिल्लो समय प्रविधिको प्रयोग पनि बढ्दै गएको छ । चुमभ्यालीका किसानले करिब १० वर्षदेखि तिब्बती बजारबाट ल्याइएका मेसिन प्रयोग गरेर गहुँ काट्ने र कुट्ने गरेका छन् ।

चुमनुब्री–७ का वडाध्यक्ष टासी दोर्जे लामाका अनुसार चुमभ्यालीका अधिकांश घरमा गहुँ काट्ने र कुट्ने मेसिन छन् ।

चुमभ्यालीमा उत्पादित गहुँ र फापर मुख्यतः ढिँडो बनाउन प्रयोग हुन्छ । स्थानीयले रोटी र चम्पा बनाउन पनि गहुँ प्रयोग गर्छन् । याक र नाकको दानाका साथै घरेलु मदिरा उत्पादनमा समेत गहुँ प्रयोग हुने गरेको छ ।