काठमाडौं, भदौ ५ । सामाजिक सञ्जालमा अश्लील सामग्री पोस्ट गरी किशोरीको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका–७ का १९ वर्षीय सुदिप कटुवाल रहेका छन् । उनलाई काठमाडौं उपत्यकाबाट पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ ।
प्रहरीका अनुसार कटुवालले नाबालिग किशोरीसँग फेसबुकमा साथी बनेर विभिन्न प्रलोभनमा पारेका थिए । त्यसपछि किशोरीसँग सम्बन्धित अश्लील सामग्री सामाजिक सञ्जालमा पोस्ट गरी चरित्र हत्या गरेको र रकमसमेत माग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पीडित पक्षले दिएको उजुरीका आधारमा उनलाई भदौ ३ गते पक्राउ गरिएको साइबर ब्युरोका प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिनुभयो ।
पक्राउ परेका कटुवालविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको छ । काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्