जनता टाइम्स

५ भाद्र २०८३, शुक्रबार ०९:०४

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, स्थानीय निर्वाचनदेखि ‘राइट टु रिकल’सम्म एजेण्डा


काठमाडौं, भदौ ५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ। वनस्थलीस्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा आगामी स्थानीय तह निर्वाचनको तयारी, संगठन सुदृढीकरणलगायत विषयमा छलफल हुने भएको छ।

बैठकमा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी रूपरेखा अनुमोदन गर्ने तथा केन्द्रीय उम्मेदवार छनोट समिति गठन गर्ने प्रस्ताव पेस हुने बताइएको छ। उम्मेदवार छनोटको प्रक्रिया र विधिबारे कार्यकर्तालाई जानकारी गराउन देशव्यापी प्रशिक्षण तथा अभिमुखीकरण सञ्चालन गर्ने विषयमा समेत छलफल हुनेछ।

त्यस्तै, रास्वपाले उठाउँदै आएको ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण तथा त्यसको कार्यान्वयनका लागि आवश्यक कानुनी र राजनीतिक खाका तयार गर्ने विषय पनि बैठकको एजेण्डामा छ।

बैठकले पार्टीका रिक्त तथा थप गर्नुपर्ने पदमा मनोनयन, सचिवालय सदस्य तथा विभागीय प्रमुखको जिम्मेवारी बाँडफाँटलगायत संगठनात्मक विषयमा समेत निर्णय गर्नेछ।

पार्टीका धारणा तथा गतिविधि सार्वजनिक गर्न ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने प्रस्तावमाथि पनि बैठकमा छलफल हुने जनाइएको छ।