जनता टाइम्स

५ भाद्र २०८३, शुक्रबार ०९:०६

डोटीमा अटोरिक्सा दुर्घटना, एक जनाको मृत्यु, चार जना घाइते


डोटी, भदौ ५ । डोटीको केआईसिंह गाउँपालिका–४ बास्कोटमा अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

बिहीबार सुपप्र ०१००१ ह ८६८४ नम्बरको अटोरिक्सा दुर्घटना हुँदा केआईसिंह गाउँपालिका–३ की ५५ वर्षीया लछु ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी ऐरलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा केआईसिंह गाउँपालिका–३ देउकाँडाकी ३५ वर्षीया गौरीदेवी मल्ल, वासुदेवीकी ५५ वर्षीया हरिनादेवी बम, १५ वर्षीया चेतना ऐर र ४५ वर्षीया मातादेवी ऐर घाइते भएका छन्।

प्रहरीका अनुसार घाइते मातादेवीको अवस्था सामान्य छ भने गौरीदेवी, हरिनादेवी र चेतनाको अवस्था गम्भीर रहेको छ।

स्थानीय दीपेन्द्र बमले चलाएको अटोरिक्सा वायलबाट देउरडीतर्फ जाने क्रममा ब्रेक फेल भएर सडकको दायाँतर्फको नालीमा पल्टिएको प्रहरीले जनाएको छ।