जनता टाइम्स

५ भाद्र २०८३, शुक्रबार १०:५३

मोतीबहादुरको बारीमा पलाएको समृद्धिको सपना, अकबरे खुर्सानीबाटै वार्षिक लाखौँ आम्दानी


रामेछाप, भदौ ५। मन्थली नगरपालिका–८ चिसापानीका कृषक मोतीबहादुर सारू मगरका लागि कृषि पेसा अब केवल जीविकोपार्जनको माध्यम रहेन। यही पेसाले उहाँलाई आत्मनिर्भर बन्ने बाटो देखाएको छ। कुनै समय गोलभेँडा खेतीबाट रामेछापमा आफ्नो पहिचान बनाउनुभएका मगर अहिले भने अकबरे खुर्सानी खेतीबाट राम्रो आम्दानी गर्दै कृषि क्षेत्रमा नयाँ सम्भावना खोजिरहनुभएको छ।

गोलभेँडा तथा अन्य तरकारीको तुलनामा अकबरे खुर्सानी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि उहाँले खुर्सानीलाई व्यावसायिक खेतीका रूपमा अघि बढाउनुभएको हो। कम लगानी, तुलनात्मक रूपमा कम मेहनत, लामो समयसम्म उत्पादन लिन सकिने र बजारमा राम्रो माग हुने भएकाले अकबरे खुर्सानी आफूका लागि उपयुक्त बाली बनेको उहाँ बताउनुहुन्छ।

Oplus_131072

“गोलभेँडालाई टनले राख्नुपर्‍यो, अन्य तरकारीमा रोगकिरा पनि बढी लाग्छ। खुर्सानी भने खुला बारीमा लगाउन मिल्छ। एकपटक लगाएपछि तीन–चार वर्षसम्म आम्दानी दिन्छ,” उहाँ भन्नुहुन्छ, “बजार भाउ पनि राम्रो छ। आलो बिक्री भएन भने सुकाएर पनि बिक्री गर्न सकिन्छ। त्यसैले यो खेती सुरक्षित लाग्यो।”

अहिले मगरले करिब एक रोपनी क्षेत्रफलमा १२ सय बोट अकबरे खुर्सानी लगाउनुभएको छ। उहाँका अनुसार सोही बारीबाट पाँच क्विन्टलभन्दा बढी खुर्सानी बजारमा बिक्री भइसकेको छ। चालु सिजनमा अझै चारदेखि पाँच क्विन्टलसम्म उत्पादन हुने उहाँको अनुमान छ।

उहाँको बारीमा फलेको अकबरे खुर्सानीको बजार मन्थलीमा मात्र सीमित छैन। रामेछापको सदरमुकाम मन्थलीदेखि सिन्धुली, बर्दिबास हुँदै काठमाडौं र विदेशसम्म समेत खुर्सानी पुग्ने गरेको उहाँ बताउनुहुन्छ। स्थानीय जातको अकबरे खुर्सानी भएकाले बजारमा यसको माग राम्रो रहेको उहाँको अनुभव छ।

मगरका अनुसार एक रोपनी जमिनबाटै वार्षिक ४ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सकिन्छ। “अन्य बाली लगाउने हो भने १० हजार रुपैयाँको पनि उत्पादन नहुन सक्छ। तर यही बारीमा तीन–चार लाख रुपैयाँको खुर्सानी फल्छ,” उहाँ भन्नुहुन्छ।

बजार पाए अझै बढ्नेछ आम्दानी

उत्पादन राम्रो भए पनि किसानले उत्पादनको उचित मूल्य पाउन नसक्दा अपेक्षित आम्दानी लिन नसकेको मगरको गुनासो छ। काठमाडौंका बजारमा अकबरे खुर्सानी प्रतिकिलो ५–६ सय रुपैयाँसम्म बिक्री हुने गरेको आफूले थाहा पाए पनि गाउँबाट बजारसम्म पुर्‍याउँदा प्रतिकिलो दुई सय रुपैयाँसमेत पाउन कठिन हुने उहाँ बताउनुहुन्छ। “बजारमा सहज पहुँच हुने हो भने अहिलेको भन्दा दुई–तीन गुणा बढी आम्दानी गर्न सकिन्छ। काठमाडौंमा ५–६ सय रुपैयाँ किलो छ, हामीले दुई सय पनि पाउँदैनौँ,” उहाँको गुनासो छ।

उहाँका अनुसार किसानले उत्पादन गर्न सक्ने क्षमता भए पनि बजार व्यवस्थापन र उचित मूल्यको अभावले कृषि पेसाबाट अपेक्षित लाभ लिन कठिन भइरहेको छ। उत्पादनदेखि बजारीकरणसम्मको उचित व्यवस्था हुन सके किसानको आम्दानी उल्लेख्य रूपमा बढ्न सक्ने उहाँको विश्वास छ।

सीमित जमिनमा पनि ठूलो सम्भावना

मोतीबहादुरको अनुभवले थोरै जमिनमा पनि व्यावसायिक कृषि गरेर राम्रो आम्दानी गर्न सकिने देखाएको छ। परम्परागत रूपमा बाली लगाउनेभन्दा बजारको माग, उत्पादन लागत र बिक्रीको सम्भावनालाई ध्यान दिएर बाली छनोट गर्न सके किसानले आफ्नै गाउँमा बसेर पनि राम्रो आम्दानी गर्न सक्ने उहाँको अनुभव छ।

उहाँका लागि अकबरे खुर्सानी खेती केवल एउटा बाली होइन, कृषि क्षेत्रमा सम्भावना खोज्ने माध्यम पनि बनेको छ। आफूले पाएको सफलताबाट उत्साहित उहाँ स्थानीय किसानलाई बजारको मागअनुसार व्यावसायिक खेतीतर्फ लाग्न प्रेरित गर्न चाहनुहुन्छ।

किसानले उत्पादन गरेको कृषि उपजको उचित मूल्य सुनिश्चित हुने हो भने कृषिबाटै राम्रो आम्दानी गर्न सकिने उहाँ बताउनुहुन्छ। उत्पादनमा मेहनत गर्ने किसानलाई प्रोत्साहनसँगै बजारको सुनिश्चितता, उचित मूल्य र बिक्री–वितरणको भरपर्दो व्यवस्था आवश्यक रहेको उहाँको भनाइ छ । 

मोतीबहादुरको अकबरे खुर्सानी खेती स्थानीय किसानका लागि प्रेरणाको उदाहरण बनेको छ। सीमित जमिन, स्थानीय स्रोत र निरन्तर मेहनतलाई बजारको मागसँग जोड्न सके कृषिलाई आम्दानीको भरपर्दो माध्यम बनाउन सकिने कुरा उहाँले व्यवहारमै देखाउनुभएको छ।

यस्ता अगुवा किसानलाई प्रोत्साहन गर्दै कृषि उपजको बजार सुनिश्चित गर्न सके गाउँघरमै रोजगारी सिर्जना गर्न सकिन्छ। युवालाई समेत कृषितर्फ आकर्षित गर्न सकिन्छ। मोतीबहादुरको खुर्सानी खेतीले यही सम्भावनातर्फ आशालाग्दो सन्देश दिएको छ-मेहनत, सही बाली छनोट र बजारको पहुँच जोडिन सके थोरै जमिनबाट पनि लाखौँ रुपैयाँ कमाउन सकिन्छ।