काठमाडौं, भदौ ५ । नेपालमा विकास भएको सूचना प्रविधिलाई विश्व बजारमा पुर्याउने दिशामा एक महत्वपूर्ण उपलब्धि हासिल भएको छ ।
स्वदेशमा आफ्नो प्रभावकारी सेवा विस्तार गरिरहेको एआई–आधारित (AI–powered) व्यावसायिक सञ्चार प्लेटफर्म टिङटिङ (TingTing ले अब अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो उपस्थिति बलियो बनाउन थालेको छ । यसै क्रममा TingTing ले श्रीलङ्काको सबैभन्दा ठूलो र अग्रणी दूरसञ्चार सेवा प्रदायक डायलग आजियाटा (Dialog Axiata) सँग रणनीतिक व्यावसायिक सम्झौता गरेको छ ।
उक्त सम्झौता पत्रमा प्रिक्साका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनिष शर्मा र डायलगका इनोभेसन एन्ड प्लेटफम्र्स बिजनेस प्रमुख तथा उपाध्यक्ष विरङ्गा सेनेभिरत्ने (Viranga Seneviratne) ले हस्ताक्षर र्गनुभएको छ ।
सम्झौतापछि बोल्दै प्रिक्साका सिईओ मनिष शर्माले डायलग जस्तो बलियो साझेदारसँग सहकार्य गर्न पाउँदा निकै उत्साहित भएको बताउनु भएको छ । उहाँले यो साझेदारी केवल व्यवसायमा मात्र सीमित नभई नेपाल र श्रीलङ्कालाई जोड्ने एक मजबुत प्रविधि इकोसिस्टम (Technology Ecosystem) निर्माण गर्न सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
कम्पनीले श्रीलङ्काली बजारमा आफ्ना अत्याधुनिक उत्पादनहरू उपलब्ध गराउन थालेको छ । कम्पनीको एकीकृत ‘टिङटिङ कम्युनिकेशन सुइट’ ( TingTing Communication Suite) अन्तर्गत कनेक्ट, ओम्नी, ब्रोडकास्ट र एजेन्ट गरी चार प्रमुख उत्पादनहरू एउटै आर्किटेक्चरमा आधारित रहेर सञ्चालनमा आएका छन् । यसले व्यवसायलाई पहुँच, स्वचालन र स्केलदेखि ग्राहक बुझाइसम्म पुर्याउन मद्दत गर्छ।
कम्पनीले संस्थाकै पूर्वाधारभित्र जडान हुने र ‘द बक्स’ अन-प्रिमाइस उपकरणमार्फत डेटा संस्थाभित्रै सुरक्षित राखेर सञ्चालन गर्न सकिने ‘टिङटिङ कनेक्ट’ उपलब्ध गराएको छ। यस्तै, ह्वाट्सएप, भाइबर, मेसेन्जर, वेबच्याट र एसएमएससहित सबै डिजिटल च्यानलका ग्राहक संवादलाई एउटै इनबक्समा एकीकृत गर्ने ‘टिङटिङ ओम्नी’ तथा हजारौँ ग्राहकसम्म एकैपटक स्वचालित भ्वाइस कलमार्फत सूचना र रिमाइन्डर पठाउन सकिने ‘टिङटिङ ब्रोडकास्ट’ प्रणाली समेत समावेश छन् ।
यसका साथै स्थानीय भाषामै ग्राहकसँग प्रत्यक्ष कुराकानी गर्ने र आवश्यकता अनुसार मानव एजेन्टलाई संवाद हस्तान्तरण गर्ने क्षमता भएको ‘टिङटिङ एजेन्ट्स’ पनि यस प्लेटफर्मको मुख्य आकर्षण हो।

नेपाली भाषाका साथै यी सबै सेवा तथा सुविधाहरू अहिले अङ्ग्रेजी र सिंहली भाषामा समेत उपलब्ध छन्। श्रीलङ्काली बजारलाई थप प्रभावकारी बनाउन कम्पनीले भ्वाइस मोडलिङतर्फ तमिल र सिंहली (श्रीलङ्कन) भाषाको परिष्कृत मोडलिङमा तीव्र गतिमा काम गरिरहेको छ।
पछिल्लो समय नेपाल सूचना प्रविधि र सफ्टवेयर निर्यातको सम्भावनायुक्त केन्द्रका रूपमा उदाइरहेको सन्दर्भमा यो सम्झौतालाई नेपाली टेक उद्योगकै लागि एउटा ठूलो माइलस्टोनका रूपमा हेरिएको छ। ‘नेपालमा निर्मित, विश्वका लागि’ (Built in Nepal, For the world) भन्ने सोचका साथ अघि बढेको TingTing को यो कदमले नेपाली स्टार्टअपहरूले विश्वस्तरीय उत्पादन विकास गरेर अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्छन् भन्ने बलियो सन्देश दिएको छ ।














प्रतिक्रिया दिनुहोस्