जनता टाइम्स

६ भाद्र २०८३, शनिबार ०७:३१

काठमाडौंमा रातिदेखि वर्षा, नागार्जुनमा ७२ मिलिमिटरसम्म पानी


काठमाडौं, भदौ ६ । काठमाडौं उपत्यकामा गएरातिदेखि वर्षा भइरहेको छ। उपत्यकाका विभिन्न स्थानमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार पछिल्लो केही घण्टादेखि उपत्यकामा पानी पर्ने र रोकिने क्रम जारी छ। पछिल्लो १२ घण्टामा नागार्जुन क्षेत्रमा ७२ मिलिमिटर वर्षा मापन भएको उहाँले जानकारी दिनुभयो।

उपत्यकाका अन्य क्षेत्रमा भने मध्यम वर्षा भएको महर्जनले बताउनुभयो। उहाँका अनुसार अहिले भइरहेको वर्षा क्रमशः कम हुँदै केही समय रोकिने सम्भावना भए पनि दिउँसो पुनः वर्षा हुन सक्छ।

आज काठमाडौं उपत्यकामा मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् महर्जनले बताउनुभयो।

यसैबीच, जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंसहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ। देशभरको मौसमसम्बन्धी विस्तृत विवरण मौसम पूर्वानुमान महाशाखाले बिहान ८ बजेपछि सार्वजनिक गर्ने जनाएको छ।