काठमाडौँ, भदौ ६ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
शनिबार दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभाग तथा मधेश प्रदेशका साथै कोशी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले चेतावनी दिएको छ।
शनिबार राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका पहाडी तथा तराई भूभाग र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने महाशाखाले जनाएको छ। यसबाट दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
महाशाखाले मौसमसम्बन्धी सूचना नियमित रूपमा अद्यावधिक गर्न तथा सम्भावित जोखिमबाट बच्न आवश्यक पूर्वतयारी अपनाउन सबैमा अनुरोध गरेको छ।














प्रतिक्रिया दिनुहोस्