जनता टाइम्स

६ भाद्र २०८३, शनिबार ०७:५०

लगातारको वर्षाले देशभरका सडक प्रभावित, विभिन्न खण्डमा राति सवारी सञ्चालनमा रोक


काठमाडौँ, भदौ ६ । लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। केही सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा समेत रोक लगाइएको छ।

प्रहरी प्रधान कार्यालयले शनिबार बिहान ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका विभिन्न सडकखण्ड वर्षाका कारण प्रभावित भएको जनाएको छ।

काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकखण्डमा बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सवारी सञ्चालन गर्न दिइएको छ।

मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालन बन्द गरिएको छ।

नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाबाहेक सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन राति १० बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिएको छ। अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा कुनै पनि किसिमका सवारीसाधन चलाउन नपाइने प्रहरीले जनाएको छ।

इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक मार्ग उपलब्ध रहेको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा पहिरो खसेको छ। सोही वडाको लिपिङमा सडक भासिएपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड कटान गरेपछि सडक पूर्ण रूपमा बन्द भएको छ। गोसाइँकुण्ड गाउँपालिका–२ स्याउबारीमा बिहीबार दिउँसो पहिरो खसेपछि पासाङल्हामु सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा पहिरो खसेपछि भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड बन्द भएको छ।

लमजुङको बेँसीसहर–मनाङ सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

रोल्पाको माडी गाउँपालिका–६ झकलीमा रुखसहितको पहिरो खस्दा घोराही–थवाङ–रुकुम सहिदमार्ग अवरुद्ध भएको छ।

पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फ प्रवेश गर्ने विन्दुबाट करिब १०० मिटर उत्तरतर्फ पहिरो खसेपछि सिद्धार्थ राजमार्ग पनि पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।

सडक अवरुद्ध भएका क्षेत्रमा पहिरो तथा बाढीको जोखिम कायमै रहेकाले अवस्था हेरेर सावधानीपूर्वक यात्रा गर्न तथा आवश्यकताअनुसार वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।