जनता टाइम्स

६ भाद्र २०८३, शनिबार ०८:१०

परिवारसहित अस्ताम पुगे प्रधानमन्त्री बालेन, स्थानीय भेट्न खोजे तर सुरक्षाकर्मीले रोके


काठमाडौं, भदौ ६ । प्रधानमन्त्री बालेन शाह शुक्रबार परिवारसहित स्थलमार्ग हुँदै कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ अस्ताम पुग्नुभएको छ। काठमाडौंबाट मुस्ताङतर्फ प्रस्थान गर्नुभएका प्रधानमन्त्री शाह दिउँसो करिब ३ बजे अस्तामस्थित अन्नपूर्ण इको भिलेज पुग्नुभएको हो।

प्रधानमन्त्री शाहको टोली अन्नपूर्ण इको भिलेजमा बसेको छ। प्रधानमन्त्री अस्ताम पुग्नुभएको जानकारी पाएपछि स्थानीयवासी उहाँलाई भेट्न पुगे पनि सुरक्षाकर्मीले भेट्न नदिएको स्थानीयले बताएका छन्।

कालो सिसा भएको गाडीमा इको भिलेज पुग्नुभएका प्रधानमन्त्री शाहलाई भेट्न स्थानीयले प्रयास गरेका थिए। तर सुरक्षामा खटिएका नेपाली सेनाका सुरक्षाकर्मीले भेट गर्न नमिल्ने भन्दै स्थानीयलाई फर्काएका थिए।

प्रधानमन्त्री आएको थाहा पाएपछि आफ्ना गाउँका समस्या राख्ने अपेक्षा गरेका स्थानीय उहाँलाई भेट्न नपाएपछि निराश भएका छन्।

स्थानीय शोभाखर अधिकारीले प्रधानमन्त्री शाह अस्ताम आउनुहुनेबारे आफूहरूलाई पूर्वजानकारी नभएको बताउनुभयो। प्रधानमन्त्री आएपछि मात्रै आफूहरूले जानकारी पाएको उहाँको भनाइ छ।

प्रधानमन्त्रीसँग भेटेर स्थानीय समस्या राख्ने इच्छा भए पनि भेट्ने अवसर नपाएको उहाँले बताउनुभयो।

त्यस्तै, स्थानीय नन्दलाल अधिकारीले गाउँमा खानेपानीको समस्या रहेको बताउनुभयो। उहाँले प्रधानमन्त्रीसँग भेट भएको भए खानेपानीको समस्या राख्ने इच्छा रहेको बताउनुभयो।

स्थानीयका अनुसार अस्ताममा धम्पुसबाट पानी ल्याइएको छ। तर माथिल्लो अस्ताममा उचाइका कारण पर्याप्त पानी पुग्न नसकेको समस्या रहेको छ।

माछापुच्छ्रे गाउँपालिका–६ का वडाध्यक्ष टेकनाथ गौतमले प्रधानमन्त्री शाहको निजी भ्रमण भए पनि उहाँको आगमनले अस्तामको प्रचारमा सहयोग पुग्ने बताउनुभयो।

उहाँले प्रधानमन्त्रीसँग भेट्न पाएको भए स्थानीयका विभिन्न समस्या राख्न सकिने बताउँदै उहाँको आगमनले गाउँको गौरव बढेको उल्लेख गर्नुभयो।

यसअघि प्रधानमन्त्रीको जिल्ला भ्रमणका क्रममा जिल्ला प्रशासन कार्यालयले सुरक्षा व्यवस्था मिलाउने गरेको भए पनि प्रधानमन्त्री शाहको भ्रमणमा भने काठमाडौंदेखि अस्तामसम्मको सुरक्षा नेपाली सेनाले सम्हालेको देखिएको छ। प्रधानमन्त्री शाह बीचमा सैनिक ब्यारेकबाहेक अन्यत्र नरोकिनुभएको जनाइएको छ।

सुरक्षा संयन्त्रका अनुसार प्रधानमन्त्री शाह शनिबार बिहानै मुस्ताङतर्फ जानुहुनेछ। उहाँका लागि पोखरामै नेपाली सेनाले हेलिकप्टर तयारी अवस्थामा राखेको छ।

प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणको औपचारिक तालिका भने सार्वजनिक गरिएको छैन। मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माले भ्रमणबारे सञ्चारमाध्यममा आएका विवरणबाहेक आफूलाई थप जानकारी नभएको बताउनुभएको छ।