जनता टाइम्स

६ भाद्र २०८३, शनिबार ०८:२९

पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास


काठमाडौं, भदौ ६ । बैतडीको सुर्नया गाउँपालिका–८ रातापानीमा पहिरोका कारण सात घर उच्च जोखिममा परेका छन्। लगातार पहिरो खस्न थालेपछि स्थानीयवासी पानी पर्नासाथ घर छाडेर छिमेकीको घरमा आश्रय लिन बाध्य भएका छन्।

स्थानीय मीना बोहराका अनुसार गत साउन २६ गते गएको पहिरोले खेतियोग्य जमिनमा क्षति पुर्‍याउनुका साथै घरसमेत जोखिममा पारेको छ। पहिरो निरन्तर खसिरहेकाले पानी पर्न थालेपछि घरमा बस्न डर लाग्ने गरेको उहाँले बताउनुभयो।

रातापानीकै भुवन बोहराको भान्सा र शौचालयमा समेत पहिरोले क्षति पुर्‍याएको छ। घरमा पहिरो पस्ने जोखिम कायमै रहेकाले वर्षा हुनासाथ छिमेकीको घरमा गएर बस्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो।

गत साउन २६ गतेको पहिरोपछि रामसिंह बोहरा, धनुवा बोहरा, मीना बोहरा, गम्भीरसिंह बोहरा, उदयसिंह बोहरा, चक्र बोहरा र कृष्ण बोहराको परिवार उच्च जोखिममा परेको छ।

स्थानीयका अनुसार उक्त क्षेत्रमा विसं २०७८ देखि पहिरो जाने क्रम रोकिएको छैन। पटकपटक दीर्घकालीन रोकथामको माग गरिए पनि समस्या समाधान हुन नसकेको उनीहरूको गुनासो छ। पहिरोको जोखिम बढ्दै गएपछि स्थानीयले बस्ती नै स्थानान्तरण गर्न माग गरेका छन्।

पहिरोका कारण ४० रोपनीभन्दा बढी खेतियोग्य जमिनमा समेत क्षति पुगेको छ। स्थानीय गम्भीर बोहराको मात्रै करिब १५ रोपनी खेतियोग्य जमिनमा क्षति पुगेको छ। मकैबाली लगाइएको जमिन पहिरोले बगाएपछि स्थानीय थप चिन्तित बनेका छन्।

सुर्नया गाउँपालिका–८ का वडाध्यक्ष भानबहादुर बोहराका अनुसार पहिरोले उक्त क्षेत्रमा ४० रोपनीभन्दा बढी खेतियोग्य जमिनमा क्षति पुर्‍याएको छ।

यसैबीच, बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालको नेतृत्वमा शुक्रबार पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरिएको छ। निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था देखिएको बताउनुभयो।

बस्ती स्थानान्तरणका लागि टेन्ट तथा त्रिपाललगायत आवश्यक सामग्रीको व्यवस्थापन गर्न सरोकारवाला निकायसँग समन्वय भइरहेको उहाँले बताउनुभयो। पहिरोका कारण अवरुद्ध विद्युत् सेवा सञ्चालनमा आइसकेको र खानेपानीको समस्या समाधानका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको उहाँको भनाइ छ।

पहिरोले बाटोसमेत बगाएपछि विद्यार्थीलाई विद्यालय पुग्नसमेत समस्या भएको छ। आधा घण्टाको दूरीमा रहेको विद्यालय पुग्न अहिले करिब डेढ घण्टा लाग्ने स्थानीयले बताएका छन्।