जनता टाइम्स

६ भाद्र २०८३, शनिबार ०८:३५

गरिमा चौधरीको हत्यामा दोषीलाई उन्मुक्ति नदिन प्रचण्डको माग


काठमाडौं, भदौ ६ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीको घटनामा संलग्न दोषीलाई कुनै पनि दबाब वा प्रभावका आधारमा उन्मुक्ति नदिन सरकारसँग माग गर्नुभएको छ।

प्रचण्डले शनिबार सामाजिक सञ्जालमार्फत गरिमाको हृदयविदारक घटनाले आफूलाई स्तब्ध र आक्रोशित बनाएको बताउनुभएको हो।

उहाँले यस्ता जघन्य अपराध सभ्य र संवेदनशील समाजका लागि कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने उल्लेख गर्नुभएको छ। गरिमाका लागि न्याय माग्दै काठमाडौँको माइतीघर मण्डलासहित देशका विभिन्न स्थानमा युवाहरूले उठाएको आवाजप्रति आफूहरूको पूर्ण ऐक्यबद्धता रहेको उहाँले बताउनुभएको छ।

प्रचण्डले गरिमामाथि भएको अपराध एउटा परिवारको पीडामा मात्र सीमित नरही राज्य, समाज र न्याय प्रणालीमाथिकै गम्भीर प्रश्न भएको बताउनुभएको छ।

छोरीहरूलाई भयमुक्त वातावरणमा बाँच्न, सुरक्षित रहन र आफ्नो भविष्य निर्माण गर्न पाउने अधिकार सुनिश्चित गर्नु राज्यको सर्वोच्च दायित्व भएको उहाँको भनाइ छ।

उहाँले घटनाको निष्पक्ष, शीघ्र र प्रभावकारी अनुसन्धान गर्न सरकारसँग आग्रह गर्दै अपराधमा संलग्न दोषीलाई कुनै पनि दबाब, प्रभाव वा पहुँचको आडमा उन्मुक्ति नदिई कडा कानुनी कारबाही गर्न माग गर्नुभएको छ।