जनता टाइम्स

६ भाद्र २०८३, शनिबार ०८:३७

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई


काठमाडौं, भदौ ६ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा निर्वाचित मिर्जा फखरुल इस्लाम आलमगीरलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ।

राष्ट्रपति पौडेलले नवनिर्वाचित राष्ट्रपति आलमगीरलाई नयाँ जिम्मेवारीका लागि सफलताको शुभकामना दिनुभएको हो।

उहाँले नेपाल र बङ्गलादेशबीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउन नेपालको प्रतिबद्धता दोहोर्‍याउनुभएको छ।

राष्ट्रपति पौडेलले नेपाल र बङ्गलादेशका जनतालाई आपसमा जोड्ने गहिरो जनस्तरीय सम्बन्धसहित दुई देशबीचको विद्यमान बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ।