जनता टाइम्स

६ भाद्र २०८३, शनिबार ०८:४४

पोखरामा प्रधानन्यायाधीश शर्माद्वारा उच्च र जिल्ला अदालतको निरीक्षण


काठमाडौं, भदौ ६ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले उच्च अदालत पोखरा र कास्की जिल्ला अदालतको निरीक्षण गर्नुभएको छ।

पोखरामा रहनुभएका प्रधानन्यायाधीश शर्माले दुवै अदालतको निरीक्षण गर्नुका साथै सेवा प्रवाहको अवस्थाबारे जानकारी लिनुभएको हो।

सर्वोच्च अदालतका उपरजिस्ट्रार राजेन्द्र पौडेलका अनुसार गत वर्षको ‘जेन्जी’ आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त अदालत भवनको अवस्थाबारे समेत प्रधानन्यायाधीश शर्माले अवलोकन तथा अनुगमन गर्नुभएको छ।

उहाँका अनुसार शनिबार प्रधानन्यायाधीश शर्माले उच्च अदालत पोखराको बागलुङ इजलास, जिल्ला अदालत बागलुङ र जिल्ला अदालत म्याग्दीको समेत निरीक्षण गर्ने कार्यक्रम रहेको छ।

‘जेन्जी’ आन्दोलनका क्रममा उच्च अदालत पोखरा, कास्की जिल्ला अदालत र तनहुँ जिल्ला अदालतका भवनमा आगजनीबाट क्षति पुगेको थियो। भवनमा क्षति पुगेपछि अदालतको न्याय सम्पादन तथा सेवा प्रवाहमा कठिनाइ हुँदै आएको छ।

प्रधानन्यायाधीश शर्माले अदालत भवन पुनर्निर्माणको कामलाई अघि बढाउन पहल गर्नुभएको उपरजिस्ट्रार पौडेलले जानकारी दिनुभयो।

यसै क्रममा प्रधानन्यायाधीश शर्माले नेपाल बार एसोसिएसन, पोखरा महानगरपालिकाका प्रतिनिधिलगायत सरोकारवाला पक्षसँग कास्की जिल्ला अदालत भवन निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापनलगायत विषयमा छलफल गर्नुभएको थियो।

भवनमा क्षति पुगेपछि उच्च अदालत पोखरा र कास्की जिल्ला अदालतले हाल अस्थायी संरचनाबाट इजलास सञ्चालन गर्दै आएका छन्।