काठमाडौं, भदौ ६ । लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। वर्षासँगै पहिरो, भूक्षय र नदी कटानका कारण काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका सडक प्रभावित भएका छन्।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइएको छ।
मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाबाहेक सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन राति १० बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिएको छ। अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा सवारी सञ्चालन गर्न नपाइने प्रहरीले जनाएको छ।
इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त क्षेत्रमा वैकल्पिक मार्ग भने उपलब्ध रहेको जनाइएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा पहिरो खसेको छ। सोही वडाको लिपिङमा सडक भासिएपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड कटान गरेपछि सडक पूर्ण रूपमा बन्द भएको छ। गोसाइँकुण्ड गाउँपालिका–२ स्याउबारीमा पहिरो खसेपछि पासाङल्हामु सडकखण्ड पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा पहिरो खसेपछि भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
लमजुङको बेँसीसहर–मनाङ सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
रोल्पाको माडी गाउँपालिका–६ झकलीमा रुखसहितको पहिरो खस्दा घोराही–थवाङ–रुकुम सहिदमार्ग पूर्ण रूपमा बन्द भएको छ।
पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फ प्रवेश गर्ने विन्दुबाट करिब एक सय मिटर उत्तरतर्फ पहिरो खसेपछि सिद्धार्थ राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।
वर्षा भइरहेकाले अवरुद्ध सडकखण्डमा थप पहिरो तथा बाढीको जोखिमसमेत रहेको प्रहरीले जनाएको छ। यात्रुले यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्रै आवागमन गर्न र सम्भावित जोखिमबाट बच्न आग्रह गरिएको छ।














प्रतिक्रिया दिनुहोस्