जनता टाइम्स

६ भाद्र २०८३, शनिबार ०९:०९

रास्वपा बैठक छलेका बालेन मनोनीत हुनेहरूको नामसमेत रविलाई नदिई हिँडेका थिए मुस्ताङतिर


काठमाडौं, भदौ ६। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी मनोनयनमा प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन शाह पक्षबाट नाम नआएपछि सभापति रवि लामिछानेले आफूनिकट नेताहरूलाई जिम्मेवारी दिएका छन्।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकले लामिछानेको प्रस्तावमा पार्टीका विभिन्न पदाधिकारी तथा विभागीय जिम्मेवारी तोकेको हो। पूर्वसञ्चारमन्त्री जगदीश खरेललाई प्रवक्ता, डा. मनोहर प्रधानलाई कोषाध्यक्ष तथा जेनजी अभियन्ता पुरुषोत्तम यादवलाई सहमहामन्त्रीको जिम्मेवारी दिइएको छ।

त्यस्तै, सुरेन्द्र चौधरी र नमिता यादव सहप्रवक्ता तथा बसुमाया तामाङलाई सहकोषाध्यक्षको जिम्मेवारी दिइएको छ।

रास्वपामा अझै एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री पदमा मनोनयन हुन बाँकी रहेको बताइएको छ। ती पदमा बालेन पक्षका नेताहरूलाई जिम्मेवारी दिने तयारी भए पनि उक्त पक्षबाट नाम नआएपछि निर्णय हुन नसकेको स्रोतको दाबी छ।

बालेन पक्षबाट महामन्त्रीका लागि भूपदेव शाह र उपसभापतिका लागि सुनिल लम्सालको नाम चर्चामा रहे पनि दुवैलाई पदाधिकारीको जिम्मेवारी दिइएको छैन। शुक्रबारको बैठकले उनीहरूलाई भने केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।

यसअघि सभापति लामिछानेले बालेनसँग भेट गरी पदाधिकारीमा समेटिने नेताहरूको नाम पठाउन आग्रह गर्नुभएको थियो। तर बालेन पक्षबाट नाम नआएपछि लामिछानेले आफूनिकट नेताहरूलाई जिम्मेवारी दिएको बताइएको छ।

यता, रास्वपाको केन्द्रीय समिति बैठक चलिरहेका बेला प्रधानमन्त्री बालेन शाह भने बैठकमा सहभागी हुनुभएन। उहाँ शुक्रबार परिवारसहित स्थलमार्ग हुँदै कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ अस्ताम पुग्नुभएको छ। त्यहाँबाट उहाँ मुस्ताङतर्फ जाने कार्यक्रम रहेको बताइएको छ।

बालेन बैठकमा सहभागी नभई निजी भ्रमणमा निस्किएपछि पार्टीभित्रको सम्बन्ध र पदाधिकारी मनोनयनलाई लिएर विभिन्न अड्कलबाजीसमेत हुन थालेको छ। पार्टीका बाँकी पदाधिकारीको मनोनयनमा बालेन पक्षको भूमिका के हुने भन्ने विषय भने अझै स्पष्ट भइसकेको छैन।