जनता टाइम्स

६ भाद्र २०८३, शनिबार ०९:१८

बञ्चरेडाँडाका स्थानीय आन्दोलित, फोहोरका गाडी एक घण्टा रोकिए


काठमाडौं, भदौ ६। बञ्चरेडाँडाका स्थानीयले काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएका सवारीसाधन एक घण्टा रोकेर आफ्ना माग सम्बोधन गर्न १५ दिनको अल्टिमेटम दिएका छन्।

वैज्ञानिक प्रविधिबाट फोहोर व्यवस्थापन नभएको, दुर्गन्ध फैलिएको र विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन्।

सिसडोल–बञ्चरेडाँडा फोहोर व्यवस्थापन सरोकार केन्द्रका अध्यक्ष निरञ्जन सन्जेलका अनुसार शनिबार बिहान एक घण्टा फोहोर बोकेका गाडी रोकेर विरोध गरिएको हो। उहाँले १५ दिनभित्र माग सम्बोधन नभए फोहोर विसर्जनमै रोक लगाउने चेतावनी दिनुभयो।

स्थानीयका अनुसार बञ्चरेडाँडामा फोहोरबाट निस्कने लिच्चेड खोलामा मिसिन थालेको छ। कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन नगरिँदा ल्यान्डफिल साइटमा लिच्चेडको समस्या बढेको उनीहरूको गुनासो छ।

स्थानीयले अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रभावित क्षेत्रको जग्गा अधिग्रहण गर्नुपर्ने, लिच्चेडको उचित व्यवस्थापन गर्नुपर्ने तथा प्रभावित क्षेत्रका नागरिकका लागि स्वास्थ्य, शिक्षा र रोजगारीको विशेष व्यवस्था गर्नुपर्ने माग गरेका छन्।

बञ्चरेडाँडामा फोहोरका कारण दुर्गन्ध फैलिएको र स्थानीयको स्वास्थ्य तथा कृषि उत्पादनमा समेत असर परेको स्थानीयको गुनासो छ। उनीहरूले विभिन्न स्वास्थ्य समस्या बढ्दै गएको दाबी गरेका छन्।

काठमाडौं उपत्यकासहित २१ वटा पालिकाको फोहोर सिसडोल हुँदै बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ। करिब २० वर्षका लागि निर्माण गरिएको बञ्चरेडाँडा ल्यान्डफिल साइटमा समेत फोहोरको चुली बढ्दै गएको स्थानीयको भनाइ छ।

यसअघि उपत्यकाको फोहोर करिब १७ वर्षसम्म सिसडोलमा व्यवस्थापन गरिएको थियो। पछिल्लो चार वर्षदेखि धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाको सिमानामा रहेको बञ्चरेडाँडामा फोहोर विसर्जन हुँदै आएको छ।